काठमाडौँ, ७ असोज
राष्ट्रपति विद्यादेवी भण्डारीले १०० वर्ष प्रवेश गरेका राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई लैनचौरस्थित घिमिरे निवासमा आईतबार बिहान पुग्नु भइ जन्मदिनको शुभकामना दिएकी छन् ।
माधवप्रसाद घिमिरेले भने ‘म सय वर्ष बाँचेकै जनताको आशीर्वाद र मायाले हो । सबैको मायाले झन् जवान भएको अनुभूति भइरहेको छ ।’
राष्ट्रकवि घिमिरेकी धर्मपत्नी महाकाली भोलि ८४ लाग्दैछिन् । ‘आफ्नी जीवनसंगिनीको ८४ को पूजा खाने भाग्यमानी श्रीमान् हुन पाउँदा खुशी लागेको छ’, उनले भने, ‘आफू सय वर्ष पुगेकोभन्दा श्रीमती ८४ पुगेको कुराले बढी हर्षित छु।'
राष्ट्रपति भण्डारीले राष्ट्रकवि घिमिरेको सुस्वास्थ्य, दीर्घायु र सिर्जनशील जीवनको कामना गर्दै शुभकामना दिएकी हुन् ।
विसं १९७६ असोज ७ गते लम्जुङको पुस्तुन बाहुनडाँडामा जन्मिएका कविवर घिमिरे नेपाली जनजीवनमा लोकप्रिय कवि हुन् ।