Previous Version
Saturday, Jun 19, 2021  |  शनिबार, ५ आषाढ २०७८   |  नेपाली समय लोड हुदैछ...
ढुङ्गा, गिटी र बालुवा निकासी गर्ने योजना कार्यान्वयन नगर्न सर्वोच्चको आदेश महासचिव पोखरेलबाट विकास योजनाको निरीक्षण पार्टी आधिकारिकताका लागि जसपा यादव पक्ष निर्वाचन आयोगमा तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह आयल निगमद्वारा बाढीपीडितलाई ग्यास सिलिण्डर र चुल्हो सहयोग एमाले संसदीय दल : मन्त्रीलाई तत्काल राजीनामा दिन निर्देशन विषादीयुक्त आँप बिक्री दश हजारकाे एकैपटक एन्टिजिन र पिसिआर परीक्षण गरिँदै बेपत्ता भनिएका सकुशल फेला बाढीले दोलालघाट पुरानो बजार क्षेत्रका ११ घर डुबानमा स्वास्थ्य मापदण्ड अपनाएर व्यवसाय सञ्चालन गर्न पाउनुपर्ने माग सेतीमा पानीको बहाव बढ्यो, सतर्क रहन आग्रह बागलुङमा विपद् : ४१ परिवार विस्थापित, ७ घर उच्च जोखिममा निरन्तर हावाहुरी, पानीका कारण बेपत्ताको खोजी अझै हुन सकेन उपत्यका छिर्ने नाकामा ‘भेइकल क्लिनिङ सेन्टर’ स्थापना

लोपोन्मुख वनकरिया समुदाय अझै सुकुम्बासी

बिहीवार, २७ जेष्ठ २०७८, सगरमाथा पोष्ट.
वाग्मती,  ‘वनकरिया’ नेपालको सबैभन्दा थोरै जनसङ्ख्या भएका आदिवासी जनजातिमध्येको एक जाति समुदाय हो । उनीहरुको सङ्ख्या दैलेखमा फिरन्ते जीवन गुजारिरहेका राउटे जातिको भन्दा पनि कम छ । मकवानपुरको मनहरि गाउँपालिका–४ मसिने नजिक मुसेधापमा बसोबास गर्ने यो समुदाय लोपोन्मुख जाति समुदायभित्र पर्दछ । नेपालभरिमा यस जातिको जनसङ्ख्या जम्मा ८१ मात्र रहेको छ भने घरधुरी सङ्ख्या २१ छ । यस समुदायमा विवाहका लागि योग्य उमेर समूहका पुरुषभन्दा महिलाको सङ्ख्या बढी भएकाले जनसङ्ख्या घट्दो रहेको देखिन्छ । महिला विवाह गरेर समान संस्कृति भएका चेपाङ जातिसँग जाने भएकाले जनसङ्ख्या घट्दो भएको स्थानीयवासी बताउँछन् । उनीहरुमा चेपाङ समुदायसँग विवाहबारी गर्ने चलन छ । दुई दशकअघिदेखि मात्रै फिरन्ते जीवनशैलीलाई त्यागेर एकै स्थानमा बसोबास शुरु गरेका आदिवासी वनकरिया जातिले अझै पनि स्थायी बसोबास गर्न पाएका छैनन् । केही वर्षअघि देशका ‘धर्तीपुत्र’ भएको ठहरसहित स्थानीय प्रशासनमार्फत नागरिकता पाएका वनकरिया जाति अहिले पनि शतप्रतिशत सुकुम्वासी छन् । यस जाति समुदायमा जम्मा दुई जनाले मात्र एसएलसी पास गरेका छन् भने कक्षा १० मा १, ९ मा चारसहित हाल जम्मा ३४ बालबालिका अध्ययनरत छन् । एसएलसी पास गरेका दुवै जनाले प्राविधिक विषय अध्ययन गरेका छन् । वरिष्ठ पत्रकार प्रताप विष्टको सहयोगमा पम्फा वनकरियाले अनमी तथा सन्तोषी वनकरियाले कृषि जेटिए अध्ययन गरेका छन् । वनकरियाका बारेमा उजागर गर्ने, खोज अनुसन्धानमूलक लेख तथा समाचार प्रकाशन गर्ने एवं उनीहरुको हकअधिकार संरक्षणका लागि लामो समयदेखि आवाज उठाउँदै र योगदान गर्दै आउनुभएका पत्रकार विष्टका अनुसार सिङ्गो वनकारिया जातिको कहीँकतै पनि जग्गा छैन । विसं २०५९ मा देशको लोपोन्मुख आदिवासी जनजातिका रूपमा सूचीकृत भएको वनकरिया जाति अहिले राष्ट्रिय निकुञ्जको जग्गामा अस्थायीरूपमा बसोबास गर्दै आएको छ । पत्रकार विष्टका अनुसार वनकरियाको बसोबास रहेको मुसेधाप खहरेको बगर भएकाले यहाँ कृषि उत्पादन राम्रो हँुदैन । यहाँको उत्पादनले वनकरिया समुदायका लागि तीन महिना मात्रै खान पुग्छ । त्यसैले वनकरिया समुदायको आर्थिक अवस्था सुधार गर्न गाउँपालिकाले वनकरिया होमस्टे (घरबास) सञ्चालन गर्न लागेको छ । गाउँपालिकाले पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई आएर बास बसेको घरलाई घरबासका रूपमा निर्माण गरिदिएको हो । गाउँपालिकाले लोपोन्मुख वनकरिया जातिको रहनसहन, खानपिन, परम्परा एवं संस्कृतिको प्रचारप्रसार गर्दै उनीहरुको आर्थिकस्तर माथि उकास्न तथा उनीहरुको जीवनशैलीको अवलोकन गर्न चाहने र उनीहरुकै घरमा बास बस्न चाहनेका लागि घरबास सञ्चालन गर्न लागेको हो । यहाँको वनकरिया बस्तीको प्रचारप्रसार हुने तथा पर्यटन प्रवद्र्धनसमेत गर्ने उद्देश्यले घरबास निर्माण गरिएको गाउँपालिकाले जनाएको छ । नेपालमै लोपोन्मुख वनकरिया बस्ती हेर्न र उनीहरुको रहनसहन बुझ्नका लागि आउनेलाई बस्नका लागि सहज होस् भन्ने उद्देश्यले घरबास निर्माण गरिएको हो । गाउँपालिकाको सहयोगमा निर्माण गरिएको घरबासले समग्र वनकरिया बस्तीको झल्को दिने गाउँपालिका अध्यक्ष एकराज उप्रेती बताउनुहुन्छ । सरकारले लोपोन्मुख जाति समुदायको प्रवद्र्धन गर्न उपलब्ध गराउने मासिक रु तीन हजार भत्ताले केही राहत त दिन्छ तर, समाज रुपान्तरणका लागि स्वजागरणसहितको आर्थिक रुपान्तरण आवश्यक पर्ने देखेर सो गाउँपालिकाले वनकरिया जातिका लागि आर्थिक उपार्जनको दिगो विकल्पका रुपमा घरबास तयार पारेको छ । घरबासका लागि एउटै भवनमा तीन कोठा तयार गरिएको छ । घरबास निर्माणको काम सकिएको र अब तत्काल सञ्चालनमा ल्याइने तयारी रहेको वनकरिया होमस्टे सञ्चालन तथा व्यवस्थापन समितिका सचिव सन्तोषी वनकरियाले जानकारी दिनुभयो । गाउँपालिकाले वनकरिया बस्तीलाई विस्तारै पर्यटकीय क्षेत्रका रूपमा विकास गर्दै लैजाने लक्ष्य लिएको छ । वनकरिया बस्तीमा उत्पादन भएको तरकारी, अन्न, फलफूलसँगैको खोलाको माछा, त्यहीको घट्टमा पिसेको पिठोका परिकार खुवाउने लक्ष्यका साथ घरबास निर्माण गरिएको हो । गाउँपालिकाले वनकरिया जातिलाई सिलाइबुनाइ, तरकारी खेतीलगायतका तालिम उपलब्ध गराउँदै आएको छ । त्यस्ता तालिमका कारण वनकरिया अहिले आफ्ना बारीमा तरकारी, फलफूल, मकै आधुनिक तरिकाले लगाउन थालेका छन् । त्यस्तै बाख्रा, कुखुरा तथा माछापालनसमेत गर्न थालेका छन् । त्यसरी लगाउँदा उत्पादन वृद्धि भएको छ भने उत्पादनले बजार पाएको छ । गाउँपालिकाले हाललाई पर्यटक राख्नका लागि तीन कोठा भएको एउटा मात्र घर तयारी गरेको भए पनि पर्यटक आगमनको सङ्ख्या हेरेर आगामी वर्षमा पनि यो बस्तीका अन्य घरलाई समेत घरबासका रूपमा विकास गर्ने तयारी गरेको छ । गाउँपालिकाले घरबासलाई व्यवस्थितरूपमा सञ्चालन गर्न पाँच जनालाई तालिम दिएको छ भने सञ्चालन गर्नका लागि छुट्टै समिति बनाएको छ । चुरेको जङ्गलमा फिरन्ते जीवन बिताउँदै आएका लोपोन्मुख आदिवासी वनकरिया समुदाय कबुलियती वनमा बस्न थालेको २३ वर्ष मात्र भएको छ । पर्सा राष्ट्रिय निकुञ्जअन्तर्गत पर्ने मनहरि–४ हाँडीखोलास्थित मुसेधापमा सरकारले २० वर्षका लागि उपलब्ध गराएको नौ हेक्टर जमिनमा उनीहरू बस्दै आएका छन् ।

यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू