Previous Version
Thursday, Apr 22, 2021  |  बिहीवार, ९ बैशाख २०७८   |  नेपाली समय लोड हुदैछ...
शीर्ष तहमा संवादहीनता तोडिएसँगै एमालेमा सकारात्मक सन्देश पत्रकार अधिकारीको कोरोना भाइरस सङ्क्रमणबाट मृत्यु ‘आदेश उल्लङ्घन गर्नेलाई कारवाही’ बेनी–जोमसोम सडक दैनिक नौ घण्टा बन्द आज मिति २०७८ साल बैशाख ९ गते विहिबार , अप्रिल २२, तपाँईको आजको दिन कस्तो हुनेछ ? वीपी प्रतिष्ठानमा इमरजेन्सी विस्तार, आज भयो उद्घाटन स्वास्थ्य परीक्षण प्रतिवेदन अस्वीकार हुँदा विदेश हिँडेका १२२ यात्री विमानबाट ओरालिए एकैदिन २,३५१ सङ्क्रमित बिहीबार राति वीणा उल्का वर्षा माओवादी बैठक : समर्थन फिर्ताको निर्णय लिने अधिकार अध्यक्ष दाहाललाई एन्जल्स हार्ट यु–१३ छात्र जुनियर क्रिकेट लिग– २ को अन्तिम लिग खेलमा प्याट्रियोटिक सेमिफाइनलमा एनसेल टावर छेउमा फेला परेको बम निष्क्रिय त्रिविद्वारा भर्चुअलबाट कक्षा लिन निर्देशन सुदिपको स्वर, डि.पीको शब्दमा 'सोची हेरन' सार्वजनिक कोरोनाबाट हेटौँडा र वीरगञ्जमा मृत्यु

दशैँघर र पूजाकोठामा भित्र्याइयो फूलपाती

शुक्रबार, ७ कार्तिक २०७७, सगरमाथा पोष्ट.
काठमाडौँ, आश्विन शुक्ल सप्तमीका दिन आज अपराह्न पूजाकोठा एवं दशैँघरमा स्थापना गरिएको नवदुर्गास्थलमा फूलपाती भित्र्याइएको छ । प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीमा मनाइने फूलपाती पर्व आज घरघरमा शास्त्रीय विधिअनुसार शुभसाइतको प्रतीक फूलपाती भित्र्याएर मनाइएको हो । घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दशैंँघर अथवा पूजाकोठामा शुभ साइतको प्रतीकका रुपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र मानवृक्ष भित्र्याइन्छ । नवपत्रिकाको नामले चिनिने फूलपाती नववटी देवीको प्रतीकका रुपमा भित्र्याई शास्त्रीय विधिअनुसार शक्तिको आराधनाका साथ पूजा गर्ने वैदिक विधि रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिनुभयो । “केरामा ब्रह्माणी, दारिममा रक्तदन्तिका, धानमा लक्ष्मी, हलेदोमा दुर्गा, मानवृक्षमा चामुण्डा, उखुमा कालिका, बेलपत्रमा शिवा, अशोकमा शोकरहिता र जयन्तीमा कात्तिकी देवीको आह्वान गरी पूजा गरिन्छ, यी देवी नवदुर्गाका पार्षद् अर्थात् सहायक हुन्”, उहाँले भन्नुभयो । देवीलाई बलियो बनाउन सहायक देवीको भूमिका हुने शास्त्रीय मान्यता छ । फूलपाती भित्र्याएपछि नवदेवीको विधिपूर्वक पूजाराधना गरिन्छ । फूलपाती भित्र्याउनका लागि साइतको आवश्यकता नपर्ने धर्मशास्त्रविद् प्रा डा गौतमले जानकारी दिनुभयो । हनुमानढोकामा भित्र्याइयो फूलपाती हनुमानढोका दरबारको दशैँघरमा गोरखा जिल्लाबाट ल्याइएको फूलपाती भित्र्याउने परम्परा छ । गोरखाबाट धादिङ जिल्लाको जीवनपुरसम्म दशैंँघरका पूजारीसहित मगर जातिका छ जनाले ल्याउने र धादिड. जिल्लाको जीवनपुरबाट काठमाडौँको जमलसम्म काठमाडौँबाट गएका ब्राह्मण जातिका छ जनाले ल्याउने परम्परा रहिआएको छ । यस वर्ष कोरोना भाइरसको सङ्क्रमणका कारण सीमित व्यक्तिले भौतिक दूरी कायम गर्दै स्वास्थ्य सुरक्षाका विधि अपनाएर फूलपाती ल्याएको हनुमानढोका दरबार हेरचाह अड्डाका कार्यालय प्रमुख सन्दीप खनालले जानकारी दिनुभयो । जमलबाट हनुमानढोकासम्म निजामती सेवाका उच्चपदस्थ अधिकारी, गुर्जुका पल्टन, ब्याण्डबाजा, पञ्चैबाजा र सांस्कृतिक नाचगानसहितको लावालस्करका साथमा फूलपाती ल्याउने गरिएकामा यस वर्ष विधि मात्र गरेर पूरा गरिएको छ । यस वर्ष शार्दूलजङ्ग गुल्म, नागार्जुनबाट आएको सशस्त्र प्रहरीको समूह र मङ्गल धुन गाउने मङ्गलिनी समूहको सहभागिता रहेको उहाँले बताउनुभयो । हनुमानढोका दरबार नासलचोकमा पूजा र मूलचोकमा बलिसहित पूजा गरेपछि दशैँघरमा फूलपाती भित्र्याइएको हो । राजतन्त्र रहुञ्जेल हनुमानढोका दरबारको दशैँघरमा फूलपाती भित्र्याउने क्रममा राज्यप्रमुखका नाताले राजाको पनि उपस्थिति रहने गरेकामा गणतन्त्र स्थापनापछि भने संस्कृतिमन्त्री उपस्थित हुने गरेको हनुमानढोका दरबार संग्रहालय विकास समितिले जनाएको छ । यस वर्ष भने कोरोनाका कारण औपचारिक कार्यक्रम नगरी परम्परागत रुपमा मात्र फूलपाती भित्र्याइएको छ । आश्विन शुक्ल प्रतिपदामा वैदिक विधिपूर्वक घटस्थापना गरी जमरा राखेपछि शुरु हुने हिन्दूको महान् चाड दशैँको सामाजिक चहलपहल भने आजैका दिनदेखि बढ्ने गरेकामा यस वर्ष त्यति छैन । आजैका दिनदेखि सरकारी कार्यालय पनि बिदा भएकाले विभिन्न पेशा र व्यवसायमा संलग्न मानिस सपरिवार बसेर दुर्गाभवानीको प्रसादका रुपमा टीका थाप्न आआफ्नो घर फर्कने क्रम अझ तीव्र हुन्छ । नेपालका ग्रामीण भेगमा आजैका दिनदेखि दोबाटो, चौतारो र चौबाटामा हालिने लिङ्गे, जाँते र रोटे पिङले दशैँको रौनकलाई अझ बढाउँछ । यस वर्ष भने कोरोनाका कारण शहरबजारमा भीड हुने गरी पिङ हालेको देखिँदैन । बजारमा आज पनि किनमेल गर्नेको भीड देखिन्छ । विशेषगरी खाद्य सामग्रीका पसलमा मानिसको भीड छ । ---

यसमा तपाईको प्रतिक्रिया (Comment)

थप समाचारहरु


भिडियोहरू