लहान भदौ २३ गते।सिरहाको मिर्चैया नगरपालिकामा ब्यापक भ्रष्टाचार र अनियमितता भएको भन्दै नगरपालिका विरूद्ध विभिन्न दलले संयुक्त संघर्ष समिति गठन गरी आन्दोलन को घोषणा गरेका छ्न।
सर्वदलिय संयुक्त संघर्ष समितिले पत्रकार सम्मेलन गरी आन्दोलन अन्तर्गत भदौं २६ मा मिर्चैया बजारमा प्रदर्शन, भदौं २८ मा राघोपुरमा नगरपालिकाको गतिविधिबारे छलफल र असोज २ मा आन्दोलनको समिक्षा गर्दै अगामी आन्दोलनको प्रारुप तयार गर्ने जनाएको छ ।
मिर्चैया नगरपालिकाका मेयर श्रवण कुमार यादवले सार्वजनिक गर्नुपर्ने सूचनाहरु लुकाएर चरम भ्रष्टाचार गर्न लागेको समितिले आरोप लगाएको छ । पदिय मर्यादालाई दुरुपयोग गर्दै मेयर यादवले आफु अनूकुल नीति, नियम तथा ऐनलाई अपव्यख्या गरेर भ्रष्टाचार गर्ने गरेको नेकपाका नेता जीवछ साहले बताए ।
उनी भन्छन्, ‘योजना संचालन हुने स्थानका उपभोक्ताको प्रत्यक्ष सहभागीतामा उपभोक्ता समिति गठन गर्ने प्रावधान छ । तर मेयर यादवले त्यसलाई बेवास्ता गर्दै अधिकांश योजनाका उपभोक्ता समितिमा अन्य ठाउँका आफु अनूकुलका व्यक्तिहरुलाई राखेर समिति बनाउँछ । र उक्त समितिले भ्रष्टाचार गर्दा मेयर यादब मोटो रकम कमिशन असुल्ने गर्छन् ।’
नगरपालिकाबाट संचालन भएको योजनाहरुको विस्तृत विवरण सहितको जानकारी लिन लिखित निवेदन दिएर पटक पटक ताकेता गर्दा पनि सुचना उपलब्ध नगराएको नेता अंजय कुमार साहको आरोप छ । सूचना दियो भने मेयर यादबले गरेको भ्रष्टाचारको पोल खुल्ने डरले सूचनाहरु लुकाउने गरेको उनको दावी छ ।