कोरोना भाइरसको महामारी नफैलिएको भए यतिबेला अभिनेत्री रेखा थापा नयाँ फिल्मको छायांकनमा व्यस्त हुने थिइन् । तर, संक्रमण फैलिन नदिन सरकारले लकडाउन घोषणा गरेपछि फिल्म फ्लोरमा जान सकेन । सविर श्रेष्ठले निर्देशन गर्ने फिल्ममा उनको जोडीको रुपमा अभिनेता सौगात मल्ल देखिँदैछन् । अब दशैंअघि फिल्मको छायांकन सुरु हुने सम्भावना न्यून छ ।
लकडाउनको समयमा रेखाले फिल्मका लागि आफ्नो शरीर स्लिम बनाएकी छन् । व्यायाम गर्न थालेको केही महिनामा २० केजी तौल घटाएकी उनले ५/७ वर्ष खानामा ध्यान नदिएका कारण मोटाएको बताउने गरेकी थिइन् । अब भने उनले आफ्नो शरीरलाई ब्यालेन्समा ल्याइसकेकी छन् । जिमखाना बन्द भएपछि उनले आफू बस्ने अपार्टमेन्टको कम्पाउन्डमा व्यायाम गर्दै आएकी छन् ।
यसबीच, रेखा मंगलवारबाट कठोर ध्यानमा बसेकी छन् । उनी दश दिने मौन व्रत बसेकी हुन् । यो समयमा उनले मोबाइल चलाउन पाउने छैनन् र दिनमा एक पटक मात्र खाना खानेछिन् । साथै, उनले दैनिक १७ घण्टासम्म साधना गर्नुपर्ने छ । मनलाई एकाग्र बनाउन, मनभित्रका लोभ-मोह हटाउन, शरीरलाई सकारात्मक उर्जा प्रदान गर्न उनी ‘विपश्यना’ ध्यानमा बसेकी हुन् ।
एक समय नेपाली फिल्ममा आफ्नो दबदबा कायम गरेकी उनी पछिल्लो पटक फिल्म ‘मालिका’ मा देखिएकी थिइन् । आफ्नो काँधमा बोकेर फिल्म सफल बनाउन सक्ने ल्याकत भएकी उनले आफूलाई अभिनेत्रीसँगै गायिका, निर्देशक, संगीतकार, निर्माता र राजनीतिज्ञको रुपमा पनि चिनाइसकेकी छन् । चर्चा र विवादमा छाइरहने उनको दश दिने मौन व्रत सफल होस्, शुभकामना ।