Previous Version
Saturday, May 08, 2021  |  शनिबार, २५ बैशाख २०७८   |  नेपाली समय लोड हुदैछ...
तारकेश्वर नगरपालीकामा अझै आइसोलेसन बन्न सकेन, अक्सीजनको सिलिण्डर पायो, नाप्ने फ्लोरी मिटरनै छैन भक्तपुर इन्टरनेसनल अस्पताललाई कारवाही गर्ने प्रशासनको तयारी बिपी प्रतिष्ठानमा कर्मचारी आन्दोलित सगरमाथा आधार शिविरबाट फर्केका १२ मा कोरोना सङ्क्रमण कोरोनाविरुद्धको खोप छिटो उपलब्ध गराइदिन राष्ट्रसंघलाई नेपालको आग्रह प्रदेश प्रमुख यादवद्वारा पदभार ग्रहण सेनाबाट अक्सिजन उद्योग सञ्चालनमा जनशक्ति सहयोग संविधानको दिगो सम्वद्र्धनका लागि आफ्नो उम्मेदवारी : गृहमन्त्री थापा १५ श्ययाको आइसोलेशन केन्द्र सञ्चालनमा आमसञ्चार क्षेत्रलाई उत्प्रेरकको भूमिका निर्वाह गर्न आग्रह मलामी बोकेको जीप दुर्घटना हुँदा १७ घाइते गृहमन्त्री थापा र डा देवकोटाबाट राष्ट्रियसभा सदस्यका लागि उम्मेदवारी दर्ता हुम्लामा हवाई उडान पुनःशुरु ५० लाखको ‘कोभिड च्यालेञ्ज फन्ड’ बनाइने "प्रवासी नेपाली एकता मञ्च युरोप" उदयपुरमा आजदेखि निषेधाज्ञा

कुशे औँशी तथा पितृ सम्मान दिवस मनाइदै, आजै मोतीराम भट्टको १५३ औँ जन्मजयन्ती

महोत्तरीको अन्धाअन्धी स्थानमा भक्तजनको घुइँचो, राजधानीको उत्तरपूर्वमा रहेको गोकर्णेश्वर महादेव मन्दिर परिसरमा पिण्डदान गर्नेको भीड

आईतवार, २४ भाद्र २०७५, सगरमाथा पोष्ट

काठमाडौँ, २४ भदौ :

भाद्र कृष्ण औँसीका दिन मनाइने कुशे औँशी पर्व आज वैदिक सनातन धर्मावलम्वीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घर–घरमा भित्र्याएर मनाउँदैछन् । 

शास्त्रोक्त विधिअनुसार ब्राह्मणद्वारा पूजा गरी उखेलेर जजमानकहाँ पुर्याइएको कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ । आजका दिन उखेलिएको कुश वर्षभर प्रयोग गर्न सकिने र अरु दिन उखेलिएको कशु त्यसै दिन मात्र उपयोग गर्न सकिने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले बताए । 

सनातन धर्मावलम्वीले कुश, तुलसी, पिपल र शालिग्रामलाई भगवान् विष्णुको प्रतीक मान्दछन् । सृष्टिकर्ता ब्रह्माजीले विवेकशील प्राणीसँगै पवित्र कुश पनि उत्पन्न गर्नुभएको धार्मिक विश्वास छ । 

 

पितृसम्मान दिवस 

यस पर्वमा छोराछोरीहरू परम्पराअनुसार आ–आफ्ना बाबुलाई मनपर्ने मिठाई तथा भोजन खुवाई आदर सम्मान प्रकट गर्ने र बाबुको मुख हेर्ने गर्दछन् । 

बाबु नहुनेहरू विभिन्न पवित्र स्थानमा गई आफ्ना बाबुको नाममा तर्पण, पिण्डदान तथा श्राद्ध गरी सिदा दिन्छन् । 

आजको दिन विशेषगरी उत्तरगया भनेर चिनिने काठमाडौँको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वर महादेव मन्दिर परिसरमा विशेष मेला लाग्छ । यसैले आजको औँशीलाई गोकर्णे औँशीका नामले पनि चिनिन्छ । आज गोकर्णेश्वर महादेव मन्दिर परिसरमा दिवङ्गत बाबुको नाममा तर्पण, पिण्डदान तथा सिदादान गर्नेको भीड लाग्दछ । यसैगरी रसुवाको वेत्रावतीमा पनि भक्तजनको लर्को लाग्छ । 

‘पितृदेवो भव’ भन्ने धार्मिक मान्यताअनुरूप यस दिन छोराछोरीले आफ्ना बाबुलाई श्रद्धापूर्वक रुचिअनुसारको खाना खुवाई आशीर्वाद प्राप्त गरेमा सुख मिल्छ । बाबु परलोक भइसकेकाले गोकर्ण अथवा अन्य तीर्थस्थलमा गई तर्पण तथा सिदादान गरेमा पुण्य मिल्नाका साथै आफ्नो कुल स्थिर हुने बुद्धोक्त पाराजिकाय नामक धर्मग्रन्थमा उल्लेख छ । 

आजको दिन थोरै दान गरेपनि हजारौँ गुणा बढी फल पाइने भएकाले पुण्य पर्व पनि भनिन्छ । दान कुपात्रमा परे दिने र लिने दुवै नरक जाने शास्त्रीय भनाइ रहेको धर्मशास्त्रविद् गौतमले सुनाउनुभयो । अरु दान दीन दुःखीलाई दिएपनि संकल्प गरेर दिने दान सुपात्रमै दिइनुपर्छ भन्ने शास्त्रीय मान्यता छ । 

 

मोतीराम भट्टको १५३ औँ जन्मजयन्ती

भाद्र कृष्ण औँसीका दिन आज राष्ट्रिय विभूति युवाकवि मोतीराम भट्टको १५३ औँ जन्मजयन्ती नेपाल राज्यभर विभिन्न साहित्यिक कार्यक्रमको आयोजना गरी मनाइँदैछ । 

विसं १९२३ भाद्र कृष्ण कुशे औँसीका दिन जन्मेर विसं १९५३ भाद्र कृष्ण कुशे औँसीकै दिन ३० वर्षको उमेरमा उहाँ परलोक भएका थिए । भट्टले नेपाली साहित्यको श्रीवृद्धिका लागि गहन योगदान पुर्याएका थिए । 

नेपाली साहित्यको शृङ्गार रसलाई योगदान दिनुभएका युवाकवि मोतीराम भट्टले आदिकवि भानुभक्तको जीवनी पहिलो पटक प्रकाशनमा ल्याए । नेपालमा छापाखाना भित्र््याएको श्रेय समेत उनले नै पाएका छन् । 

उनका ‘मोतीराम भट्टका उपलब्ध ग्रन्थावली’, ‘गजेन्द्रमोक्ष’, ‘प्रह्लाद भक्ति कथा’, ‘पिकदूत’, ‘भानुभक्तको जीवन चरित्र’ लगायत कृति प्रकाशित छन् । भट्ट नेपाली कविताको माध्यमिक कालका केन्द्रीय प्रतिभा हुन । 

आदिकवि भानुभक्त आचार्यले नेपालीमा अनुवाद गरेको रामायणको पाण्डुलिपी खोजी उनले नै विसं १९४१ मा प्रकाशन गराएका थिए । भट्ट नेपाली साहित्यका पहिलो भूमिका लेखकसमेत हुन । यससम्बन्धी अनुसन्धान हुन बाँकी नै रहेको पद्मकन्या बहुमुखी क्याम्पस नेपाली विषयका उपप्राध्यापक ज्ञाननिष्ठ ज्ञवालीले जानकारी दिए ।


गोकर्णेश्वरमा पिण्डदान गर्नेको भीड

भाद्र कृष्ण औँशीका दिन आज बिहानैदेखि राजधानीको उत्तरपूर्वमा रहेको गोकर्णेश्वर महादेव मन्दिर परिसरमा दिवङ्गत पितृप्रति तर्पण, पिण्डदान र श्राद्ध गर्ने भक्तजनको भीड लागेको छ । 

पितृ तीर्थधाम एवं उत्तरगया भनेरसमेत चिनिने यस स्थलमा आई आज तर्पण, पिण्डदान र श्राद्ध गरे घर, मामाघर र ससुरालीतर्फका २१ पुस्तासम्मका पितृ तर्दछन् भन्ने धार्मिक विश्वास छ । यही विश्वासमा देशका विभिन्न भागबाट आएका लाखौँ भक्तजनको बिहानैदेखि भीड लागेको मन्दिरका पुजारी जगदीश भट्टले राससलाई जानकारी दिनुभयो । कति भक्तजन शनिबार बेलुकी नै मन्दिर परिसरमै आएर बसेका थिए । 

आज बिहान ८ बजेसम्म मघा तिथि रहेकाले त्यसपछि तीर्थ श्राद्ध गर्न सकिने धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले बताउनुभयो । वैदिक सनातन हिन्दू र बौद्ध धर्मावलम्बी आफ्ना दिवङ्गत पितृप्रति श्रद्धा भक्तिपूर्वक जलदान एवं पिण्डदान गर्न आज यहाँ भेला भएका छन् । 
महानगरीय ट्राफिक प्रहरी वृत्त बौद्धले जोरपाटी चोकबाट सुन्दरीजलतर्फ चल्ने सवारीसाधनलाई जोरपाटीबाटै फर्काइदिएको छ । यसकारण भक्तजन र यात्रु लामो दूरीसम्म पैदल यात्रा गर्न बाध्य छन् । 


अन्धाअन्धी स्थानमा भक्तजनको घुइँचो

कुशे औँशीअर्थात् बुबाको मुख हेर्ने दिन भएकाले आज बिहानैदेखि महोत्तरी जिल्लाको लोहारपट्टी नगरपालिकाको बगडा गाउँमा अवस्थित प्रशिद्ध ऐतिहासिक अन्धाअन्धी स्थानमा भक्तजनको घुइँचो लागेको छ । 

बुबाआमालाई आफ्ना सर्वश्व मान्ने र बुबाआमाकै सेवालाई महान धर्म मान्नेको आस्थाका केन्द्र मानिएको सो स्थानमा आज बुबाको मुख हेर्ने दिनमा भक्तजनको घुइँचो लागेको स्थानीय बताउँछन् । 

जिल्लाको उत्तरपूर्व कुनामा धनुषा जिल्लासँग जोडिएर रहेको लोहारपट्टी नगरपालिकाको बगडामा अवस्थित रामायणकालीन अन्धाअन्धी स्थान पौराणिक एवं धार्मिक महत्व बोकेकाले यहाँ हजारौँ महिला पुरुष दर्शनका लागि आएको स्थानीय हेमशङ्कर यादवले बताए । 

रामायणकालमा मातापिताका अनन्य भक्त श्रवण कुमारका मातापिताले यसै स्थानमा राजा दशरथको शब्दभेदी वाण लागेर आफ्नो छोरा श्रवण कुमारको मृत्यु भएको सुनेपछि आफ्नो प्राण त्याग गरेको किम्वदन्ती रहेको छ । 

विगतका दिनमा यस स्थानमा दैनिक मेला लाग्ने गरेको तथा टाढाटाढाका दर्शनार्थीको ओइरो लाग्ने गरेकोमा अहिले यहाँ कहिले काँही विशेष दिनजस्तै बुबाको मुख हेर्ने वा आमाको मुख हेर्ने दिनमा मात्रै श्रद्धालु आउने गरेको स्थानीय रामचन्द्र यादवले बताए । 

आजका दिन यस अन्धाअन्धी स्थानमा महोत्तरी, धनुषा, सर्लाही, सिरहा, सिन्धुलीलगायत भारतका पटनासम्मका मानिस आउने गरेको स्थानीय मोती यादवको भनाइ छ । 

बुबा, आमा नभएकाले यस स्थानमा आफ्ना बुबाआमाको सम्झना गर्दै यहाँ आउने गरेको र अन्धाअन्धी स्थानलाई आफ्ना बुबाआमाको सम्झनाको केन्द्र बनाएको स्थानीय वृद्ध वृजकिशोर यादवले बताए । 

अन्धाअन्धीले प्राण त्याग गरेको दिनदेखिनै यो स्थान अन्धाअन्धी स्थानको नामले स्थापित एवं चर्चित भएको छ भने यस स्थानमा विभिन्न समयको अन्तरालमा मन्दिर पनि बनाइएको थियो । 

तर सम्बन्धित निकायको उदासिनताका कारण यस स्थानको संरक्षण सम्वद्र्धनका लागि कुनै पनि पहल हुन नसक्दा यो पौराणिक स्थान ओझेलमा पर्दै गएको स्थानीय बताउँछन् । 

उनीहरुले धार्मिक एवं ऐतिहासिक यस अन्धाअन्धी स्थानको संरक्षण, सम्वद्र्धन गरी पर्यटकीयस्थलका रुपमा विकास गर्न माग गरेका छन् । 


यसमा तपाईको प्रतिक्रिया (Comment)

थप समाचारहरु


भिडियोहरू