Previous Version
Saturday, Jun 19, 2021  |  शनिबार, ५ आषाढ २०७८   |  नेपाली समय लोड हुदैछ...
थपिए दुई हजार ४०० कोरोना सङ्क्रमित कालो बादल मडारिन थालेपछि ... मस्र्याङ्दी नदी थुनियो, जोखिम झन् बढ्यो हेलिकप्टर चार्टर गरेर सुरक्षित स्थानमा जाँदै मनाङबासी कामपाको नीति तथा कार्यक्रममाथिको छलफल आइतबारदेखि डेनमार्क र आयरल्याण्डबाट सेती नदीले खतराको सतह पार ग¥यो तत्काल मनसुन कमजोर हुने अवस्था छैन : मौसमविद् विदेश भ्रमणलाई २२ निजी अस्पतालको पिसिआर रिपोर्टलाई मान्यता लगानी अभाव परिपूर्तिका लागि विकासका साझेदारसँग नेपालको आग्रह कोरोना कहरः रोजगारीका लागि भारत जाने बढे विपद् जोखिम न्युनिकरणमा विशेष ध्यान दिन राष्ट्रपतिको आग्रह आठ स्थानिय तहका सङ्क्रमितलाई होम आइसोलेसन किट वितरण न्याय सम्पादनमा ढिलाइ : २९६ मुद्दा फैसलाका प्रतीक्षामा नदी नियन्त्रणमा ‘कम्पोजिट’ पर्खाल प्रभावकारी

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निष्कर्ष : सार्वजनिक संस्थानमा मनलाग्दी सेवासुविधा

निश्चित मापदण्ड तोकेर आवश्यक व्यवस्था गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र अर्थ मन्त्रालयलाई सुझाव

सोमबार, ४ भाद्र २०७५, – रमेश लम्साल .

काठमाडौँ, ४ भदौ 

नेपाल टेलिकमले विगत पाँच वर्षमा रु ५६ करोड २८ लाख ६८ हजार २६५ बराबरको मासिक निःशुल्क टेलिफोन र इन्टरनेट सुविधा उपलब्ध गराएको पाइएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विभिन्न ११ वटा सरकारी संस्थान तथा निकायमा गरेको अध्ययनका आधारमा सोमबार सार्वजनिक गरेको एक विवरणअनुसार टेलिकमले तह एकदेखि प्रबन्ध निर्देशक र सञ्चालक समितिका सदस्यलाई तहगत रुपमा मासिक टेलिफोन (मोबाइल र ल्याण्डलाइन) र इन्टरनेट सुविधा उपलब्ध गराएको पाइएको हो । 

पछिल्लो पाँच वर्षमा त्यसबाट संस्थालाई आधा अर्ब बराबरको थप व्ययभार परेको पाइएको हो । दुग्ध विकास संस्थानले कर्मचारीका लागि दैनिक एक लिटर दूध, मासिक एक केजी मख्खन वा घिउ उपलब्ध गराएको पाइएको छ । विगत पाँच वर्षमा रु ११ करोड ८१ लाख ९७ हजार ११२ बराबरको थप व्ययभार परेको छ । 

यस्तै नेपाल विद्युत् प्राधिकरणले प्रतिकर्मचारीलाई न्यूनतम ७५ युनिट र अधिकतम १२५ युनिट विद्युत् निःशुल्क उपलब्ध गराएको छ । मंसिर–वैशाखसम्म ७५ युनिट र जेठदेखि कात्तिकसम्म १२५ युनिट विद्युत् सुविधा दिइएको अध्ययनबाट पत्ता लागेको छ । 

नेपाल खानेपानी संस्थानले प्रत्येक कर्मचारीलाई मासिक रु ५६० का दरले खानेपानी महशुल सुविधा उपलब्ध गराएको छ । सो सुविधाबाट विगत पाँच वर्षमा रु एक करोड ८९ लाख ९६ हजार ४६० बराबरको थप व्ययभार परेको छ । हेटौंडा सिमेन्ट उद्योगले कर्मचारीलाई वार्षिक छ बोरा सिमेन्ट उपलब्ध गराउने गरेको छ । 

नेपाल वायु सेवा निगमले सञ्चालक समिति सदस्यलाई वार्षिक चार निःशुल्क र तीन ९० प्रतिशत छुटमा दोहोरो टिकट, अवकाश प्राप्त सञ्चालकलाई वार्षिक दुई निःशुल्क र दुई वटा ९० प्रतिशत दोहोरो आवतजावत सुविधासहितको टिकट उपलब्ध गराउँदै आएको पाइएको छ । कार्यरत कर्मचारीको हकमा वार्षिक चार वटा निःशुल्क टिकट र तीन वटा ९० प्रतिशतसम्म छुट सहितको टिकट र अवकाश प्राप्त कर्मचारीलाई आजीवन वार्षिक दुई वटा टिकट दिने र त्यस्तो टिकट कर्मचारीका परिवारले समेत प्रयोग गर्न पाउने व्यवस्था छ । तर नेपाल आयल निगमले भने विगत पाँच वर्षदेखि मट्टितेल सुविधा उपलब्ध गराउन बन्द गरेको छ । बिक्री वितरण गर्ने कर्मचारीलाई त्यस्तो सुविधा विगतमा समेत नरहेको पाइएको आयोगले जनाएको छ । 

उदपुर सिमेन्ट उद्योग, नेशनल ट्रेडिङ लिमिटेड, टिम्बर कर्पोरेशन अफ नेपाल र नेपाल खाद्य संस्थानले भने त्यस्तो कुनै सुविधा नदिएको पाइएको आयोगको अध्ययनबाट देखिएको प्रवक्ता रामेश्वर दङ्गालले जानकारी दिए । सार्वजनिक संस्थानमा रहेको सेवा र सुविधा वितरणलगायतका विषयमा भएको छानबिनका क्रममा सार्वजनिक सेवा प्रवाहसँग प्रत्यक्ष संलग्न रहेका कतिपय सार्वजनिक संस्थानले उत्पादन र सङ्कलन गरी सर्वसाधारणसँग शुल्क लिएर वितरण गर्ने सार्वजनिक सेवा तथा वस्तु, आफ्ना पदाधिकारी तथा कर्मचारीलाई निःशुल्क सुविधाका रुपमा उपलब्ध गराउने गरेको पाइएको छ । 

नमूनाका रुपमा अध्ययन गरिएका ११ सार्वजनिक संस्थानले प्रदान गरेका सेवासुविधामा एकरुपतासमेत नदेखिएको आयोगको टिप्पणी छ । कुनै संस्थानले कर्मचारी सेवा शर्तसम्बन्धी नियमावलीमा व्यवस्था गरेर र कुनैले सञ्चालक समितिबाट निर्णय गरेर यस्तो सुविधा प्रदान गर्ने गरेको पाइएको छ । निःशुल्क उपलब्ध गराएको वस्तु र सेवाको मूल्य गणना गर्दा संस्थानपिच्छे विविधता रहेको, कतिपय संस्थान घाटामा जाँदासमेत सेवासुविधामा अधिकार स्थापित गर्न खोजेको देखिएको आयोगको ठहर छ । 

कुनै संस्थानले सुविधा नै उपलब्ध नगराएको र कुनैले अत्यधिक सुविधा उपलब्ध गराएको तथा अवकाशपछि पनि सेवासुविधा वितरणमा निरन्तरता दिएको समेत पाइएको छ । पदाधिकारी, कर्मचारीले प्राप्त गरेको सेवासुविधालाई वार्षिक आयमा गणना गर्ने नगरिएको र सो बापतको कर निर्धारणसमेत नभएको देखिएको छ । संस्थानले पदाधिकारी तथा कर्मचारीलाई उपलब्ध गराएको सुविधालाई विश्लेषण गर्दा आर्थिक अवस्था, वित्तीय क्षमता, व्यावसायिक कारोवारको अवस्था, वस्तु र सेवाको उत्पादन एवं वितरणको प्रभावकारितालाई ख्याल गर्नुपर्ने अवस्था रहेको आयोगको भनाइ छ । 

संस्थाको दीर्घकालीन दायित्वको विवेचना समेतका आधारमा छुट्टै कोषको व्यवस्था गरी त्यस्तो सुविधालाई पारिश्रमिकको अभिन्न अङ्ग बनाई एकरुपता कायम हुने गरी निश्चित मापदण्ड तोकेर आवश्यक व्यवस्था गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र अर्थ मन्त्रालयलाई सुझाव दिइएको आयोगको भनाइ छ । 


यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू