काठमाडौं, असार २४ ।
जारी विश्वकप फुटबलमा आयोजक रसियालाई टाइब्रेकरमा पराजित स्तब्ध पार्दै क्रोएसियाले सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको छ । त्यस्तै, शनिबार नै भएको अर्को क्वाटरफाइनल खेलमा स्वीडेनलाई २–० ले हराउँदै इंग्ल्याण्ड २८ वर्षपछि विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
अब यस नतिजा आएसँगै सेमिफाइनलको खेलमा क्रोएशियाले इंग्ल्याण्डको सामना गर्नेछ । शनिबार राति भएको खेलमा क्रोएसियाले रसियालाई टाइब्रेकरमा ४–३ गोल अन्तरले हराएको थियो ।
पेनाल्टी शुटआउटका क्रममा जीतका लागि आवश्यक १ गोल गर्दै क्रोएशियालाई इभानले सेमिफाइनलको सुनिश्चितता दिलाएका थिए । यसअघि निर्धारित ९० मिनेटको खेल १–१ को बराबरीमा सकेका यी दुई टोलीले अतिरिक्त समयमा पनि बराबर एक–१ गोल नै गरेका थिए ।
त्यस्तै, इंग्ल्याण्ड यो सहित तेस्रो पटक विश्वकप फुटबलको सेमिफाइनलमा पुगेको हो । यसअघि सन् १९६६ मा आफैले विश्वकप जित्दा र सन् १९९० मा पनि उ सेमिफाइनलसम्म पुगेको थियो ।
सन् १९९० मा इंग्ल्याण्ड जर्मनीसँग सेमिफाइनलमै पराजित भएको थियो । तसर्थ, यसपटकको सेमिफाइनल यात्रा इंग्ल्याण्डको २८ वर्षपछि पहिलो पटक हो ।
अब इंग्ल्याण्डले फाइनल प्रवेशका लागि क्रोएसियासँग आउँदो बुधबार प्रतिस्पर्धा गर्नेछ ।
अब यससँगै जारी विश्वकपमा क्वाटरफाइनलका खेलहरु समाप्त भएका छन् । सेमिफाइनलको खेलमा फ्रान्स र बेल्जियम भिड्ने यसअघि नै तय भैसकेको छ । तसर्थ विश्वकपका आगामी प्रतियोगिताहरु थप रोमाञ्चक हुने निश्चित छ ।