हेटौँडा, मङ्सिर २ । प्रदेश नं ३ का प्रदेश लोकसेवा आयोगका नवनियुक्त अध्यक्ष सुरेशमान श्रेष्ठले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ । उहाँलाई प्रदेश प्रमुख विष्णुप्रसाद प्रसार्इंले शपथ ग्रहण गराउनुभएको हो । प्रदेश प्रमुखको कार्यालय हेटौँडामा आयोजित समारोहमा मुख्यमन्त्री डोरमणि पौडेल, सभामुख सानुकुमार श्रेष्ठ, आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्कट्टेल, आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुङ्गेल, सामाजिक विकासमन्त्री युवराज दुलाललगायत विशिष्ठ व्यक्तिको उपस्थिति थियो । शपथ ग्रहण कार्यक्रममा प्रदेश प्रमुख प्रसार्इंले प्राप्त जिम्मेवारी दृढतापूर्वक पूरा गर्न अनुरोध गर्दै बधाई ज्ञापन गर्नुभयो । शपथ ग्रहणपछि लोकसेवा आयोगका नवनियुक्त अध्यक्ष श्रेष्ठलाई मुख्यमन्त्री पौडेल, सभामुख श्रेष्ठ तथा मन्त्रीलगायतले बधाई ज्ञापन गर्नुभयो । लमजुङको दुराडाँडामा जन्मनुभएका ६१ वर्षीय श्रेष्ठ नेपाल सरकारको सचिवबाट सेवा निवृत्त हुनुहुन्छ । उहाँ २०४१ सालमा शाखा अधिकृतबाट निजामती सेवामा प्रवेश गर्नुभएको थियो ।