प्रमुख समाचार
Nov 16, 2019
चिसो शुरु भएसँगै हिमपात पूर्वतयारीका योजना बनाउँदै
–सर्जना कार्की
रुकुमपूर्व, कात्तिक ३०
  प्रदेश नम्बर ५ को एकमात्र हिमाली जिल्ला रुकुम (पूर्व) मा चिसो शुरु भएको छ । चिसो शुरु भएसँगै हिमपात हुने भन्दै हिमपातबाट प्रभावित नागरिकलाई सहयोग तथा उद्धारका लागि विपद् व्यवस्थापन समिति रुकुम (पूर्व) ले हिमपात पूर्वतयारीका योजना बनाउन थालेको छ । विपद् व्यवस्थापन समितिले जिल्लास्थित तीनवटै स्थानीय तहका जनप्रतिनिधि तथा प्रमुख प्रशासकीय अधिकृतको उपस्थितिमा चिसो र हिमपातले प्रभावित हुनसक्ने बस्तीको पहिचान गरेको छ । स्थानीय तहको रुपमा सबैभन्दा बढी चिसो तथा हिमपातबाट प्रभावित हुने गाउँपालिका पुथा उत्तरगङ्गा रहेको छ । त्यसैगरी क्रमशः भुमे र सिस्ने गाउँपालिका रहेको विपद् व्यवस्थापन समिति अध्यक्षसमेत रहनुभएका प्रमुख जिल्ला अधिकारी मोहनप्रसाद अर्यालले बताउनुभयो । उहाँका अनुसार चिसो तथा हिमपातबाट प्रभावित हुने सबैभन्दा बढी पुथा उत्तरगङ्गा गाउँपालिकाका बस्ती रहेका छन् । क्रमशः भुमे र सिस्नेका बस्ती रहेका छन् । यस वर्ष जिल्लाका ७०० घरधुरीका तीन हजार ५०० भन्दा बढी नागरिक चिसो तथा हिमपातबाट प्रभावित हुनसक्ने अनुमान गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । गत वर्ष पनि जिल्लामा हिमपातका कारण थुप्रै मानिस चिसोले प्रभावित भएका थिए तर जिल्लामा यसपटक पनि राहत तथा उद्धारका सामग्री पर्याप्त मात्रामा संकलन गर्न सकिएको छैन । जिल्ला प्रहरी कार्यालयमा अहिले गैठी, बेल्चा, डोरीलगायतका सामान मात्र रहेको जिल्ला प्रहरी कार्यालय रुकुम (पूर्व) का प्रहरी निरीक्षक तथा सूचना अधिकारी वीरबहादुर सुनारले जानकारी दिनुभयो । त्यसैगरी सशस्त्र प्रहरी बल र खड्ग दल गणसँग पनि त्यति नै सामान रहेको बताइएको छ । विपद् प्रभावित प्राथमिकताका क्रममा पुथा उत्तरगङ्गा गाउँपालिकामा सबैभन्दा अगाडि हिमपात हुने गरेको छ । त्यसैगरी महामारी, पहिरो, आगलागी, भूकम्प, सडक दुर्घटना, चट्याङ, हुरीबतास, बाढी आदि रहेका छन् । भुमे गाउँपालिकामा बाढी पहिरो पहिलो नम्बरमा र अन्य क्रमशः सडक दुर्घटना, आगलागी, भूकम्प, महामारी, हिमपात, चट्याङ र हुरीबतास रहेका छन् । त्यसैगरी सिस्ने गाउँपालिकामा पहिलो नम्बरमा पहिरो र क्रमशः बाढी, आगलागी, सडक दुर्घटना, महामारी, हुरीबतास, हिमपात, चट्याङ र भूकम्प रहेका छन् । तीनवटै गाउँपालिका विपद् प्रभावित भएको र अहिले उपलब्ध सामान पर्याप्त नभएकाले अझै आवश्यक सामान खरीद गर्नुपर्ने अवस्था रहेको प्रजिअ अर्यालले बताउनुभयो । भौगोलिक रुपमा विकट मानिएको रुकुम (पूर्व) का सबै ठाउँमा पुग्न सहज छैन । विकासको क्रममा पछि रहेको यस जिल्लामा भनेको समयमा पुग्न र उद्धार तथा राहातका सामान पनि पु¥याउन सक्ने अवस्था नरहेको प्रजिअ शर्माले बताउनुभयो । “जिल्लाको सबै ठाउँमा यातायात र सञ्चारको सुविधा छैन”, प्रजिअ अर्यालले भन्नुभयो, “कतिबेला कहाँ के हुन्छ भन्ने कुरा थाहा हुँदैन र भएका गतिविधिको जानकारी पनि तत्काल प्राप्त गर्न सक्ने स्थिति छैन ।” त्यसैले जिल्लावासी सजग भएर बस्नुपर्ने उहाँको भनाइ छ । जनतालाई राहत महसुस हुने गरी विपद् पूर्वतयारी गर्न स्थानीय तहलाई प्रजिअ अर्यालले आग्रहसमेत गर्नुभएको छ । विपद् व्यवस्थापनमा स्थानीय तह विपद् व्यवस्थापनको लागि जिल्लाका तीनवटै स्थानीय तहले बजेट विनियोजन गरेका छन् । सिस्ने गाउँपालिकाले यस आर्थिक वर्षमा रु २० लाख बजेट विनियोजन गरेको सिस्ने गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत विमला रोका श्रेष्ठले जानकारी दिनुभयो । खर्च नभएर कोषमा जम्मा भएको गत वर्षको रु पाँच लाखभन्दा बढी रकमसहित विपद् व्यवस्थापनको लागि रु २५ लाखभन्दा बढी रकम रहेको उहाँको भनाइ छ । पुथा उत्तरगङ्गा गाउँपालिकाले विपद् व्यवस्थापनको लागि रु १९ लाख बजेट विनियोजन गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रवीन्द्र बुढाक्षेत्रीले जानकारी दिनुभयो । उहाँका अनुसार गाउँपालिकामा हिमपातबाट प्रभावितलाई न्यानोका लागि २५ थान कम्बल, २५ थान त्रिपाल र १५ थान भाडा सेट रहेको उहाँको भनाइ छ । त्यसैगरी भुमे गाउँपालिकाले यस आवमा विपद् व्यवस्थापनको लागि रु छ लाख छुट्याएको र पहिले नै कोषमा जम्मा भएको रु पाँच लाख ३२ हजार गरी रु ११ लाख ३२ हजार रकम रहेको प्रमुख प्रशासकीय अधिकृत चन्द्रसिंह श्रेष्ठले जानकारी दिनुभयो । त्यसैगरी गाउँपालिकामा २२ थान न्यानो कम्बल रहेको पनि उहाँले जानकारी दिनुभयो । जिल्लामा हिमपातपश्चात् हुनसक्ने सम्भावित घटनालाई मध्यनजर गर्दै स्थानीय तहले योजना बनाएर काम गर्ने बताएका छन् । रुकुम (पूर्व) मा मङ्सिरको अन्तिम सातादेखि माघको महिनासम्म जिल्लाका विभिन्न उच्च हिमाली तथा लेकाली क्षेत्र तथा बस्तीमा हिमपात हुने गर्दछ । हिमपातले गर्दा वर्षेनी उच्च हिमाली तथा लेकाली क्षेत्रमा बसोवास गर्ने नागरिकको जनजिवन प्रभावित हुने गरेको छ । –––


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video