प्रमुख समाचार
Nov 15, 2019
कानुनको धज्जी उडाँउदै बेनिघाट–रोराङ गाँउपालीकाद्धारा क्रसर उद्योग दर्ता, स्थानीय बिकास मन्त्रालय भन्छ “गापालाई क्रसर दर्ता गर्ने अधिकार छैन”
काठमाण्डौं । कार्तिक २९ । नेपालको विद्यमान ऐन, कानुनको धज्जी उडाँउदै धादिङको बेनिघाट–रोराङ गाँउपालीकाले गैरकानुनी रुपमा क्रसर उद्योग सञ्चालनको अनुमती दिएको खुलासा भएको छ । 
स्थानीय सरकार सञ्चालन ऐन २०७४ मा क्रसर उद्योग दर्ता, अनुगमन र नियमन लगायतको अधिकार स्थानीय सरकारलाई दिएपनि नदिको दोहन र पर्यावरणमा असर परेको भन्दै २०६६ साल देखिनै सरकारले क्रसर उद्योग दर्ता र नविकरण बन्द गरेको छ । त्यस यता कुनै पनि क्रसर उद्योग दर्ता र नविकरणनै बन्द छ । तर बेनिघाट–रोराङ गाँउपालीकाले भने आफुसंग हुंदै नभएको अधिकार प्रयोग गरेर क्रसर दर्ता गरी सञ्चालनको अनुमती समेत दिएको छ । 
गाँउपालीकाका अध्यक्ष पित्तबहादुर डल्लाकोटी र धादिङका केहि राजनीतिक दलको संरक्षणमा रोल्पा लिवाङ घर भई बेनिघाट रोराङ गाउँपालिका २ ताल्ती स्थित मलेखु खोलामा निर्माणाधिन ह्वासिन सिमेन्ट नारायणी प्रालीमा कार्यरत डिल्लीराज पोखरेल सहित स्थानीय समिर अधिकारी, इश्वर रावल, खेम भुजेल, बेनिघाट रोराङ गाउँपालिका वडा नं २ का वडा अध्यक्ष टंक थापाका छोरा तुलसी थापा लगायतको लगानी रहेको युनाइटेड क्रसर उद्योगलाई २०७५ साल कार्तिक १६ गते उद्योग दर्ताको प्रमाणपत्र समेत दिएको हो । 
हेरौं उद्योग दर्ताको प्रमाणपत्र र सञ्चालन अनुमती पत्र 


गाँउपालीका आफैले दर्ता गरेर उद्योगको अभिलेखको पत्र 

क्रसर दर्ताको न्युनतम मापदण्ड समेत पुरा नगरी सञ्चालन अनुमती 
क्रसर उद्योग दर्ता र सञ्चालन सम्बन्धी आफनै मापदण्ड छन् । गाँउपालीकाले ति कुनै पनि मापदण्ड पुरा नगरी क्रसरलाई गैरकानुनी रुपमा दर्ता दिएको हो । क्रसर उद्योग सञ्चालन (घरेलु तथा साना उद्योग विभाग, कायाविधि दिग्दर्शन २०७२ मा  क्रसर उद्योग सञ्चालनका प्रारम्भीक वातावरण मुल्यांकन (आइई प्रतिवेदन) पेश गर्नुपर्ने भएता पनि उक्त उद्योगले आइई प्रतिवेदन समेत पेश गरिएको छैन् ।
मापदण्डमा क्रसर उद्योग सञ्चालनका लागि घना वस्ती जहाँ १००० वा सो भन्दा बढी जनसंख्या वा २०० वा सो भन्दा बढी घरधुरी एकै ठाउँमा केन्द्रित भै बसोबास गरिरहेको क्षेत्रबाट कम्तिमा २ कि. मि. पर उद्योग स्थापना गर्नुपर्ने छ ।
त्यस्तै क्रशर मेशिन राखिएको स्थानबाट कम्तिमा १०० फिटको रेडियसको जग्गा उद्योगले प्रयोग गर्ने व्यवस्था गर्नुपर्ने हुन्छ । यसको लागि नापीकार्यालयबाट प्रमाणित नक्सामा २०० फिट लम्वाई र २०० फिट चौडाईको एउटै चक्लाको जग्गा उपलब्ध गरेको हुनु प्र्रावधान भएता पनि उक्त उद्योगले सबै प्रक्रिया नै लत्याएको पाइएको छ ।
साथै क्रसर उद्योग राजमार्गबाट ५०० मिटर , खोला किनाराबाट ५०० मि. शिक्षण संस्थाबाट २ कि.मि, स्वास्थ्य संस्थाबाट २ कि.मि. , धार्मिक ,सास्ंकृतिक र पुराताक्तिवक महत्वका स्थानबाट २ कि.मि, सुरक्षा निकायबाट २ कि.मि. वन, निकुञ्ज र आरक्षणबाट २ कि.मि., र घनावस्तीबाट २ कि.मि. टाढा हुनुपर्ने प्रावधान छ । तर, उद्योगले भने खानीखोलाको बगरमै उद्योग सञ्चालन गरि दिनदहाडै जेनेरेटर चलाएर उत्पादन समेत सुरु गरिरहंदा स्थानीय प्रशासन भने मौन रहेको छ । राजनैतिक दलका नेता देखि मन्त्री सम्मको संरक्षण रहेको उक्त क्रसरलाई प्रशासनले सितिमिति हिसावले बन्द गराउन हिम्मत समेत गर्न नसकेको स्थानीयबासीहरुको भनाई रहेको छ । 
अबैध क्रसरको अबैध धन्दा
उच्च राजनीतिक संरक्षण प्राप्त उक्त क्रसर उद्योगले सरकारी निकायलाई प्रभावमा पारेर दिनदहाडै गैरकानुनी रुपमा खोलामा स्काभेटर प्रयोग गरेर नदिजन्य पदार्थको उत्खनन गरिरहेको छ । खोलाबाट नदिजन्य पदार्थ झिक्नको लागि गाँउपालीकाले सुचना जारी गरेर अनुमती दिएपछि मात्र उत्खनन गर्न पाइन्छ । तर राजनैतिक संरक्षणका कारण क्रसरले दिनदहाडै खोलामा मेसीन हालेर उत्खनन गरिरहेको छ । दिन दहाडै भइरहेको अवैध धन्दामा स्थानीय प्रहरी मुकदर्शक भएर बसीरहेको छ । हेर्नुहोस तस्वीर
 
 
स्थानीय निकायले नयाँ क्रसर दर्ता गरिए अवैधानीक ः संघिय मामिला तथा स्थानीय विकास मन्त्रालय
संघिय मामिला तथा स्थानीय विकास मन्त्रालयको वातावरण तथा व्यवस्थापन शाखाका उपसचिब ऋषिराज अर्यालले क्रसर दर्ता र नबिकरण गर्ने अधिकार स्थानीय निकाय सम्म नपुगीसकेको बताँउदै नयाँ दर्ता गरीए अवैधानीक हुने बताउनुभयो । 
उहाँले स्थानीय सरकार सञ्चालन ऐन २०७४ मा क्रसर सञ्चालनको अधिकार स्थानीय निकायलाई दिने उल्लेख भएपनि हाल सरकारले अनुमती र नविकरण दुवै बन्द गरेको अवस्थामा गाँउपालीकाले दर्ता गर्न नसक्ने बताउनुभयो । 
रोकिएको क्रसर दर्ता र नविकरण खुलाउने बिषयमा अहिले सम्म मन्त्रालयले कुनै पनि मापदण्ड समेत नबनाएको बताँउदै उहाँले भन्नुभयो “यस्तो अवस्थामा उद्योग दर्ता कुन कानुन अनुसार भयो त्यो गाँउपालीकालाई थाहा होला ।” 
क्रसर दर्ता र नविकरणबारे प्रदेशमा कुनै कानुन बनेको छैन ः प्रदेशनं ३ को मुख्यमन्त्री कार्यालयका प्रवक्ता
प्रदेश नं ३ को मुख्यमन्त्री कार्यालयका प्रवक्ता, उपसचिब मदन प्रसाद पोख्रेलले क्रसर उद्योग दर्ता र नविकरणबारेमा केन्द्रीय सरकारले रोक लगाएको बताँउदै प्रदेश नं ३ मा हाल सम्म कुनै पनि कानुन नबनेको बताउनुभयो ।
उहाँले भन्नुभयो “मैले बुझे सम्म केन्द्रीय सरकारले क्रसर दर्ता नर नविकरणमा बन्देज लगाएको अहिले सम्म फुकुवा भएको छैन र प्रदेशले कानुनै नबनेको अवस्थामा गाँउपालीकाले कुन कानुनी अधिकार प्रयोग गरेर दर्ता दिनुभयो थाहा भएन” । 
उहाँले क्रसर दर्ता र नविकरणको बारेमा प्रदेश नं ३ सरकारले स्थानीय तहलाई अधिकार दिने गरी कुनै पनि निर्णय नगरीएको स्पष्ट पार्नुभयो ।  

के भन्छन धादिङका जनप्रतिनिधि र प्रशासन ?
राजनीतिक नेताहरुको संरक्षण रहेको उक्त अवैधानीक क्रसर उद्योगको बारेमा सञ्चार माध्यमहरुमा समाचार आउन थालेपछि धादिङका जनप्रतिनिधि, राजनीतिक दल र प्रशासनमा समेत दबाब पर्न थालेको छ । 
धादिङमा नेकपा भित्र राम्रो छवी बनाउन सफल जिल्ला समन्वय समिति धादिङका प्रमुख जगन्नाथ नेपालले गाँउपालीकालाई क्रसर दर्ता गर्ने कुनै अधिकार नभएको बताउनुभयो । उहाँले भन्नुभयो “हुंदै नभएको अधिकार प्रयोग गरेर  गाँउपालीकाले क्रसर दर्ता गरेको भन्ने मैले पनि सुनेको छु त्यसको आधिकारीक डकुमेन्ट प्राप्त भएपछि म छानविन गर्ने छु”
उहाँले प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख लगायतसंग सल्लाह गरेर अनुगमनम गरिने समेत बताउनुभयो । 
धादिङका प्रमुख जिल्ला अधिकारी आसमान तामाङले क्रसरलाई गाँउपालीकाले दर्ता गरेको बारेमा आफुलाई समेत जानकारी आएको बताँउदै त्यसको बैधानीकताबारेमा क्लियर भएर आफुले उपयुक्त कमद चाल्ने बताउनुभयो । 
क्रसर दर्ता बारेमा सञ्चारमाध्यम र जनताबाट समेत गुनासो आएको बताँउदै प्रमुख जिल्ला अधिकारी तामाङले क्रसर दर्ता अबैधानीक ठहरीए बन्द गरिने बताउनुभयो । 
उहाँले जिल्ला समन्वय समितिका प्रमुख, जिल्ला प्रहरी प्रमुख सहितको संयुक्त टोलीले क्रसर स्थलगत अनुगमन गर्ने, डकुमेन्टेशन हेर्ने लगायतको काम गरिने बताँउदै भन्नुभयो “तपाँईहरु पनि आउनुहोस हामीहरु पनि संयुक्त रुपमा अनुगमन गरेर अन्द स्पट जे गर्न पर्ने हो त्यही निर्णय गरौंला ।”
अबैध क्रसर दर्ताबारेमा जानकारी लिन बेनिघाट–रोराङ गाँउपालीकाका अध्यक्ष पित्तबहादुर डल्लाकोटी (हरी)लाई पटक पटक सम्पर्क गर्दा समेत कुनै रेस्पोन्स गर्नुभएन । 
धादिङका संघिय संसद भुमि त्रिपाठीले गाँउपालीकाले क्रसर दर्ता दिएको बारेमा आफुलाई कुनै जानकारी नभएको बताँउदै नबुझेको बिषयमा आफुले बोल्ने नगरेको प्रतिकृया दिनुभयो । उहाँले भन्नुभयो “मलाई जे बिषयमा पनि बोल्ने बानिछैन, अव्यवस्थीतलाई व्यवस्थीत गर्ने कुरा ठिक हो” 
कानुनको जानकार संघिय संसद भएको नाताले कानुनमा नभएको अधिकार प्रयोग गरेर गाँउपालीकाले क्रसर दर्ता गर्नु ठिक हो त ? भन्ने हाम्रो जिज्ञासामा त्रिपाठीले धम्कीपुर्ण तरीकाले जबाफ दिंदै भन्नुभयो “भैगो अहिले हामी फोनमा कुरा नगरौं म पनि काठमाण्डौं आँउदैछु तपाँईको अनुहार हेरेरनै आमने सामने भएर प्रतिकृया दिँउला”

 स्वार्थी समुहका कारण ह्वासीङ सिमेन्ट पटक पटक बिबादमा
धादिङको बेनीघाट रोराङ गाँउपालीका २ ताल्तीमा बन्न लागेको चिनिया लगानीको ह्वासीङ सिमेन्ट नेपालकै गौरपुर्ण उद्योग हो । सिमेन्ट उद्योग ताल्तीमा निर्माण हुनु धादिङ मात्र होइन नेपालको निम्ती पनि हितकारक आयोजना हो । तर राजनीति दाउपेचका कारण उक्त सिमेन्ट पटक पटक बिबादमा तानिँदै आइरहेको छ । ह्वासीङमा आफनो प्रभुत्व जमाउन खोज्ने एउटा राजनीतिक झुण्डका कारण सिमेन्ट उद्योग  पटक पटक बिबादमा तानिँदै आइरहेको छ । चिनियाँ लगानीकर्तालाई खुसी बनाउन उक्त झुण्डले गाँउपालीकालाईनै प्रभावमा पारी सरकारी जग्गा दिने अधिकारै नभएको बेनिघाट–रोराङ गाँउपालीका मार्फत ३ सय रोपनी भन्दा बढी जग्गा दिने निर्णय गराएको थियो । त्यती मात्र होइन गाँउपालीकाका अध्यक्ष अध्यक्ष पित्त बहादुर डल्लाकोटीले ३ सय रोपनी सरकारी जग्गालाई आफनो अधिकार क्षेत्र मिचेर निकै न्युन मुल्यमा भाडामा दिएको बिषय संसदीय छानविन समिति सम्म पुगेर अनुमती समेत खारेजी भई ह्वासीङले नयाँ प्रकृयाबाट जग्गा प्राप्ती गर्ने चरणमा रहेको छ । 
ह्वासीङमाथी जग्गा बिबाद सेलाउन नपाँउदै उक्त समुहले सिमेन्ट फ्याक्ट्रीको नाम जोडेर नजिकै नयाँ क्रसर सञ्चालन गरेको छ । ह्वासीङ सिमेन्टको प्रतिनिधि बताउने रोल्पा लिवाङ घर भएका डिल्ली पोख्रेल सहितको समुहको प्रभावमा बेनिघाट–रोराङ गाँउपालीकाले आफनो अधिकारनै नभएको क्षेत्रमा प्रवेश गरी क्रसरलाई दर्ता अनुमती दिएसंगै फेरी बिबादमा तानिएको छ । ह्वासीङले सिमेन्ट फ्याक्ट्री निर्माणका लागि हाङटाव कन्ट्रक्सन प्रा.लिलाई ठेक्का दिएपनि कम्पनीको प्रतिनिधि बताउने डिल्ली पोख्रेलले कम्पनीसंगको सम्बन्ध देखाँउदै क्रसर दर्ता गराएका हुन् ।  
 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video