प्रमुख समाचार
Nov 12, 2019
केसीद्वारा अनशन स्थगित
अमरगढी, कात्तिक  २६ ।  वरिष्ठ चिकित्सक प्रा डा गोविन्द केसीले आफ्नो १७औँ सत्याग्रह स्थगन गर्नुभएको छ । मङ्गलबार नवौँ दिनमा केसीले आफ्नो सत्याग्रह स्थगन गरेको घोषणा गर्नुभएको हो । डा केसीले डडेल्धुराको अमरगढी नगरपालिका–४ बस्ने चार वर्षीय बालक श्रीयान्स जैरुबाट सुन्तलाको जुस खाएर १७औँ अनशन नवौँ दिनमा स्थगन गर्नुभएको हो । राष्ट्रियताको संवेदनशील विषयमा जनस्तरबाट आवाज उठिरहँदा देशवासीको संवेदनालाई ख्याल गर्दै सत्याग्रह स्थगन गरेको उहाँले विज्ञप्तिमार्फत बताउनुभयो । चिकित्सा शिक्षा ऐन संशोधनको प्रमुख माग राखेर उहाँ डडेल्धुरामा सत्याग्रह बस्नुभएको थियो । प्रा डा केसीले स्वास्थ्य र चिकित्सा शिक्षामा सुधार तथा सुशासनका लागि आफ्नो लडाइँ जारी नै रहने स्मरण पत्रकारहरूमार्फत गराउनुभएको छ । सरकारले आफ्नो माग पूरा नगरे पुनः सत्याग्रहसहितका आन्दोलनका कार्यक्रम ल्याउने उहाँले बताउनुभएको छ । सत्याग्रहकै बीचमा भारतले निकालेको नयाँ नक्सामा नेपालको पश्चिमी सीमा क्षेत्रको लिम्पियाधुरासम्मको भूभाग भारतमा समेटिएको समाचारले अरू नेपाली नागरिकजस्तै आफू पनि स्तब्ध भएको केसीले बताउनुभएको छ । “आम नागरिकमा राष्ट्रियताको भावना बलियो हुनु राम्रो हो । तर सत्तामा हुनेहरूले राष्ट्रियताको बहाना पारेर कर्तव्यच्यूत हुने, गलत काम गर्ने तथा फरक मतमाथि दमन गर्नका लागि अभिव्यक्ति स्वतन्त्रता खुम्च्याउने काम गरे भने त्यो स्वीकार्य हुँदैन”, केसीले भन्नुभएको छ । उहाँले सीमा रक्षा राष्ट्रियताको पहिलो सर्त हो भन्दै सबल र आत्मसम्मानपूर्ण राष्ट्रका लागि सीमा रक्षा मात्रै पर्याप्त नभएको जिकिर गर्नुभएको छ ।


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video