प्रमुख समाचार
Oct 20, 2019
गैरआवासीय नेपाली संघको निर्वाचन अब नेपालमा हुंदैन : नवनिर्वाचीत अध्यक्ष कुमार पन्त
रबिन थपलिया । काठमाण्डौं । कार्तिक ३। गैरआवासीय नेपाली संघका नवनिर्वाचीत अध्यक्ष कुमार पन्तले संघको आगामी निर्वाचन अव नेपालमा नहुने बताएका छन् । 
रिपोर्टस क्लब नेपालले शनिबार साँझ काठमाण्डौंमा आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा बोल्दै अध्यक्ष पन्तले संघले अनलाइन भोटीङ सिस्टमको बारेमा अध्ययन गर्नका निम्ती उपाध्यक्ष मन केसीको नेतृत्वमा समिति बनेको जानकारी दिए । 
पन्तले भने “प्रविधिको जवाना काठमाण्डौंमा आएर घण्टौ लाइन लागेर भोट हाल्नुपर्ने झण्झटबाट मुक्त गराउनको लागि नयाँ कार्यसमितिले उपयुक्त निर्णय लिने छ”
एनआरएनएको निर्वाचनमा राजनीतिक कार्यकताहरु परिचालन गरेर गैरआवासीय नेपाली संघको निर्वाचनलाई प्रभावीत पार्न खोजीएको आरोप लगाँउदै भने “ राजनीतिक प्रभाबबाट मुक्त गर्नका निम्ती हामीले अव देखि यो चुनाव नेपालमा गदैनौं । बाहिरै गर्दछौं । त्यसो भएमा जबरजस्ती राजनीतिकरणबाट एनआरएनएलाई मुक्त गराउन सकिन्छ” 
अध्यक्ष पन्तका अनुसार संघको अनलाइन भोटीङ्ग र निर्वाचन पद्धतीको बारेमा अध्ययन गर्न उपाध्यक्ष मन केसीको नेतृत्वमा महासचिब डा. हेमराज शर्मा, सचिब गौरी जोसी, कोषाध्यक्ष महेश श्रेष्ठ सहितको अध्ययन समिति गठन गरिएको छ । 
संघको निर्वाचनमा राजनीतिक हस्तक्षप नगर्न राजनैतिक दलका नेताहरुलाई सुझाब दिँदै अध्यक्ष पन्तले भने “कृपया हामी गैर आवासीय नेपालीहरुलाई मिलेर बस्न दिनुस, राजनीतिको नाममा बिभाजन नगरिदिनुस, यो राज्यको निम्ती पनि फाइदा हुन्छ, राजनीतिक दलको निम्ती पनि फाइदा हुन्छ र हामीलाई पनि यसमा फाइदा हुन्छ ।” 
संसारभरि छरिएर रहेका ८० लाख नेपालीहरु एकताबद्ध भएर रहन चाहन्छौं । हामी बिभाजीत हुन चाँहदैनौं अध्यक्ष पन्तले भने जति गैरआवासीय नेपालीहरु एकताबद्ध भएर बस्छन त्यतीनै नेपालको समृद्धिका निम्ती गैरआवासीय नेपालीहरुले योग्दान गर्न सक्छन् । 
पन्तले आफूहरुसँग अत्यन्त छोटो समय रहेकोले आफ्नो २ वर्षे कार्यकालमा यसअघि गरेका वाचा तथा प्रतिबद्धताहरु पूरा गरेरै छोड्ने पनि स्पष्ट पारे । उनले भने,‘हामीसँग अब टाईम लिङगरिङ गर्ने छुट छैन् । यो २४ महिनामा हामीले गरेका सबै वाचा तथा प्रतिबद्धताहरु पूरा गर्नुपर्छ । हामी आजैबाट दत्तचित्त भएर लागिपरेका छौं ।’ अध्यक्ष पन्तले मुलुकमा रोजगारीको अवसर सिर्जना गर्नको लागि एनआरएनएले ठूलो भूमिका निर्वाह गर्ने पनि बताए । 
उनले भने,‘गैरआवासीय नेपालीहरुले विदेशमा हाँसिल गरेको ज्ञान, सिप, पुँजी र लगानी नेपाल भित्र्याउनेछौं । हामी यो देशको विकास र समृद्धिको लागि सामूहिक लगानी ल्याउँछौं । पछिल्लो समय हामीले नेपालमा सामूहिक लगानी सुरु गरिसकेका छौं । यसैको उदाहरण हो २७ मेगावाटको तोर्दी खोला हाईड्रोपावर, जुन हामीले निर्माण सम्पन्न गरिसकेका छौं ।’ त्यस्तै, नेपाल सरकारसँग १२ अर्व लगानी भित्र्याउने भनेर एम.ओ.यु.पनि गरिसकेको उनले सुनाए । उनले भने,‘हामीले यो प्रतिबद्धता पूरा गर्नको लागि काम पनि सुरु गरिसकेका छौं ।’ उक्त म्युच्युअल फण्डमा ९० प्रतिशत लगानी गैरआवासीय नेपालीको रहने र बाँकी १० प्रतिशतमा ५ प्रतिशत निजी क्षेत्र र अर्को ५ प्रतिशत नेपाल सरकारको रहने पनि उनले जनाए । 
अध्यक्ष पन्तले विदेशबाट ठूलो संख्यामा नेपाल आउने रेमिट्यान्स अनउत्पादनशिल क्षेत्रमा खर्च भैरहेको सुनाउँदै आगामी दिनमा उक्त रेमिट्यान्स उत्पादनको क्षेत्रमा लगानी गर्ने पनि बताए । विदेशमा श्रममा रहेका नेपालीहरुको हित र कल्याणको लागि स्थापना गरिएको श्रमिक कल्याणकारी कोषमा भएको रकम दोब्बर गर्ने भनेर बोलिएअनुसार आजैबाट काम सुरु भएको पनि उनले स्पष्ट पारे । 
उनले भने,‘आज बसेको हाम्रो नवनिर्वाचित कार्यसमितिको बैठकबाट कोषमा एक करोड ५ लाख रकम जम्मा भैसकेको छ ।’ त्यस्तै, उनले श्रमसम्बन्धी समस्या समाधानको लागि कसरी अघि बढ्ने भन्नेबारे आफूले श्रममन्त्री गोकर्ण विष्टसँगपनि छिट्टै छलफल सुरु गर्ने जनाए । 
पन्तले संघको नवौं विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशनमा निर्वाचनको भोटिङ मेशिनमा समस्या देखिएको बताए । उनले भने,‘यसपालि आलोचना हुनुको कारण भनेको भोटिङ सिस्टमले गर्दा हो । हामीले यसअघि रामलक्ष्मण दाजुभाइको कम्पनीबाट भोटिङ मेसिन ल्याएर निर्वाचन गराएका थियौं । त्यो मेसिन अन्य निर्वाचनहरुमा पनि प्रयोग भइरहेको रहेछ । त्यही मेसिन ल्याएर हामीले निर्वाचन सम्पन्न गराउन खोज्यौं । तर, प्राविधिक समस्या सिर्जना भयो ।’ 
 
नवनिर्वाचित उपाध्यक्ष मन केसीले आफूहरुले दिर्घकालिन योजनासहित काम गर्ने बताए । यसअघि गरिएका प्रतिबद्धताहरु कार्यान्वयन गरेरै छोड्ने पनि उनको विश्वास छ । संस्थामा बौद्धिक, उद्यमी, व्यवसायीलगायत सफल व्यक्तिहरु रहेकोले आगामी दिनमा मुलुकको विकास र समृद्धिको लागि योगदान पुर्याउनेगरि काम गर्ने पनि केसीले प्रतिबद्धता जनाए ।
नवौं महाधिवेशन भव्य रुपमा सम्पन्न भएको सुनाउँदै उनले सम्मेलनबारे अहिले जनस्तरबाट मिश्रित प्रतिक्रिया आएको बताए । उनले भने,‘चामलमा बियाँहरु देखियो भने नाङलोले फ्याँकेजस्तै, हामी पनि संस्थाभित्र देखिएका बियाँहरु फ्याँक्छौं ।’ उनले संस्थामाथि लागेका सबैखाले दाग र खोटहरु मेटाउने पनि विश्वास दिलाए । 
त्यस्तै, अर्का उपाध्यक्ष सोनाम लामाले आफूले सुरुदेखि नै दोहोरो नागरिकताको निरन्तरताको बारेमा वकालत गरिरहेकोले उक्त काम पूरा गर्नको लागि सदैव प्रयास गर्ने स्पष्ट पारे । त्यस्तै, उनले नेपाल सरकारले घोषणा गरेबमोजिम पर्यटन वर्ष–२०२० लाई सफल तुल्याउनको लागि आफूहरुले सक्दो भूमिका निर्वाह गर्ने पनि विश्वास दिलाए । 
उनले भने,‘नेपालमा २० लाख पर्यटक भित्र्याउनको लागि हाम्रो पनि ठूलो भूमिका र जिम्मेवारी छ । एक एनआरएनए एक विदेशी नेपाल भित्र्याउनको लागि पहल गर्नुपर्छ । यसको लागि म पूर्ण रुपले लाग्नेछु ।’ मुलुकलाई आर्थिक सम्पन्नशाली बनाउनको लागि आफूहरुको पूरा साथ र सहयोग रहने पनि लामाले बताए । उनले भने,‘यसअघि घोषणा गरिएको निर्माणाधिन मेगा प्रोजेक्टहरु जो छन्, ती पूरा गर्नको लागि हामी निरन्तर लाग्नेछौं । म भाषणमा विश्वास गर्दिन् । काममा विश्वास गर्छु ।’
कार्यक्रममा अर्का उपाध्यक्ष अर्जुन कुमार श्रेष्ठले अहिलेको नयाँ निर्वाचित टिमले धेरै कुरा बोल्नेभन्दा पनि बोलेका कुरा पूरा गर्ने र पूरा गर्नसक्ने कुरामात्रै बोल्ने स्पष्ट पारे । आफूहरुले गरेका वाचा तथा प्रतिबद्धताहरु समयमै कार्यान्वयन गर्ने पक्षतर्फ दत्तचित्त भएर लाग्ने उनको धारणा छ । त्यस्तै, उनले भिजिट नेपाल–२०२० लाई सफल तुल्याउनको लागि आफूहरुले ठूलो भूमिका निर्वाह गर्ने र नेपाल सरकारलाई सहयोग गर्ने बताए । 
कार्यक्रममा नवनिर्वाचित महासचिव डा. हेमराज शर्माले नवौं विश्व सम्मेलनमा निर्वाचनको क्रममा उत्पन्न समस्याका कारण संघको छविमा केही प्रश्न उठेको भएपनि त्यसलाई छिटपुट घट्नाको रुपमा चित्रण गरे । 
उनले भने,‘हामीले यस विषयलाई गम्भिर रुपमा लिएका छौं । निर्वाचन पद्धती र संगठनात्मक संरचनाबारे हामीले सोचेका छौं । निर्वाचन पद्धती परिवर्तन गर्नेबारे हामीले निश्कर्ष निकालेका छौं । निर्वाचनमा कसैले पनि यसरी भाग लिनुपर्दैन्, सिधै अनलाईन भोटिङ प्रणालीको व्यवस्था गर्छौं ।’ शर्माले आज बसेको कार्यसमितिको पहिलो बैठकले पनि यसबारेमा कार्यदल बनाएको सुनाए । उपाध्यक्ष मन केसीको संयोजकत्वमा कार्यदल बनाएको उनले जनाए । 
सन् २०२१ मा हुने दशौं विश्व सम्मेलनमा आफूहरु व्यवस्थित् भएर आउने पनि उनले विश्वास दिलाए । उनले अहिले नयाँ टिम निर्वाचित भएर आएको र देशको समृद्धि र विकासको लागि योगदान पुर्याउनेगरि आफूहरुले काम गर्ने पनि प्रतिबद्धता जनाए । 
कार्यक्रममा नवनिर्वाचित सचिव आर.के. शर्माले मध्यपुर्व एशियामा रहेका श्रमिक नेपालीहरुको समस्या समाधानको लागि आफूहरु सधैं लागिपर्ने बताए । नेपालको विकासमा मध्यपुर्व एशियाबाट आउने रेमिट्यान्सले ठूलो टेवा पुगेको बताउँदै आगामी दिनमा उक्त रेमिट्यान्सलाई लगानीमा परिणत गर्ने सुनाए। 
त्यस्तै, सह–कोषाध्यक्ष लोक दाहालले पनि आफूहरु देशको विकास र समृद्धिमा एकजुट भएर लागिपर्ने बताए । अमेरिका क्षेत्रीय महिला संयोजक उमा कार्की थापाले विदेशमा बसेपनि आफूहरुको मन, मस्तिष्कमा नेपाल रहेको सुनाउँदै मातृभुमीको विकासमा जहिल्यैपनि जोडिने विश्वास दिलाईन् । 
उनले आफू समाजसेवामा सुरुदेखि नै सक्रिय रहेको सुनाउँदै आगामी दिनमा संघमार्फत मुलुकको विकासमा टेवा पुर्याउने बताईन् । नेपालमा केही विपत्त पर्दा विदेशमा बस्ने आफूहरुजस्त नेपालीहरु पनि रुने गरेको उनले नेपालको हरेक सुख, दुखमा आफूहरु पनि सँगै रहेको सुनाईन् । नेपाललाई आर्थिक रुपमा धेरै माथि उठाउन आफूहरुले भूमिका निर्वाह गर्ने कार्कीको भनाई छ । 
त्यस्तै, एशिया प्यासिफिक डेपुटी रिजनल कोअर्डिनेटर खगेन्द्र न्यौपानेले पनि श्रमिकको समस्या समाधानको लागि आफूहरुले पहल गर्ने र नेपालको विकास र समृद्धिमा टेवा पुर्याउने वचनबद्धता व्यक्त गरे । 
त्यस्तै, एसिया प्यासिफिक क्षेत्रीय संयोजक रोविन्द प्रसाद श्रेष्ठ ‘गोविन्द’ ले श्रमिकको मुद्दालाई आफूहरुले जोडदार रुपमा उठाउने र श्रमिक फण्ड बलियो बनाउने बताए । 
कार्यक्रममा क्लबका सभापति धमलाले नवनिर्वाचित पदाधिकारीलाई सफल कार्यकालको शुभकामना दिँदै अध्यक्ष पन्तलाई सबै साथीहरुलाई मिलाएर लैजान आग्रह गरे । नेपालको विकास र समृद्धिमा गैरआवासीय नेपालीहरुले ठूलो योगदान गर्नसक्ने बताउँदै उनले त्यसको लागि विभाजित भएर भन्दापनि एकताबद्ध भएर अघि बढ्नुपर्ने सुझाव दिए । 
 
संघको ११ सदस्यीय सल्लाहकार समिति गठन, को को छन समितिमा ? 
 गैरआवासीय नेपाली संघको बैठकले ११ सदस्यीय सल्लाहकार समिति बनाएको छ । जस अनुसार 
 १ कुल आचार्य
२ हरिबोल भण्डारी
३ बिश्व आदर्श पण्डित
४ जानकी गुरूड्ग
५ सोम प्र सापकोटा
६ रामेश्वर शाह
७ पुस्कर तिमिल्सिना
८ सपिला राजभण्डारी
९ ए सी शेर्पा
१० त्रिलोक गुरूड्ग
११ टि बी कार्की
 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video