बरण्डा भत्किँदा ३६ विद्यार्थी घाइते १ विद्यार्थीको अवस्था गम्भीर  |  न्हूदँ शुभकामना सभामा प्रधानमन्त्री ओली सरिक हुनुहुने  |  करारका चिकित्सकका भरमा जाजरकोट अस्पताल  |  चाबहिलमा पुरानो घर भत्काउने क्रममा दुई घाइते  |  नेकपा नेतामाथि चन्द समूहको आक्रमण  |  कतारको श्रम कानूनमा सुधारः लाखौँ आप्रवासी कामदार लाभान्वित हुने  |  डोजर चालकविरुद्ध ज्यानमार्ने उद्योगमा मुद्दा दर्ता  |  त्रिवि जनप्रशासन विभागमा तालाबन्दी  |  भोटेकोशीमा अन्तरराष्ट्रिय प्रतियोगिता : ३० देशका ४०० खेलाडी सहभागी हुने  |  सामाजिक अभियन्ता तथा राजनीतिज्ञ निलकण्ठ पौडेलले “ग्लोबल सिटिजन्स” अन्तराष्ट्रिय पुरस्कार पाए
विचार/अन्तरवार्ता
Feb 12, 2019
२४ औँ जनयुद्ध दिवस र एकीकृत जनक्रान्ति
– खेम थपलिया 
सर्वप्रथम महान् जनयुद्धको ऐतिहासिक पहलको २४ औँ जनयुद्ध दिवसको यस ऐतिहासिक अवसरमा देश र जनताको मुक्तिका निम्ति प्राणाहुति दिने महान् सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नु, राज्यद्वारा बेपत्ता पारिएका योद्धाहरूको विशेष सम्मानसहित स्मरण गर्र्नु तथा सहिद परिवारजन, बेपत्ता योद्धाहरूका परिवारजन र घाइते योद्धाहरूप्रति पनि सम्मान व्यक्त गर्नु आफ्नो कर्तव्य ठान्दछौँ । यस अवसरमा हामी विश्व सर्वहारा–कम्युनिस्ट मित्रहरू र नेपालका सम्पूर्ण उत्पीडित तथा श्रमजीवी जनसमुदायप्रति विशेष हार्दिक अभिवादन गर्नु पनि हाम्रो आफ्नो दायित्व बनेको छ ।  
नेपालमा माओवादीको नेतृत्वमा सञ्चालन भएको दस वर्षको आँधीमय जनयुद्ध महान् ऐतिहासिक परिघटना थियो । केन्द्रीय सत्ताको नजिक–नजिक पुग्नै लाग्दा तत्कालीन नायकमा भयानक विचलन आयो । तत्कालीन नयाकमा आएको विचलन र त्यसले पैदा गर्ने विचारहीन, सिद्धान्तहीन र घोर दक्षिणपन्थको खतराबाट जोगाउन प्रचण्ड–बाबुरामहरूबाट सम्बन्ध–विच्छेद गरेर मोहन वैद्य ‘किरण’ को नेतृत्वमा नयाँ पार्टी निर्माण भयो । मोहन वैद्य ‘किरण’ को नेतृत्व पनि अकर्मण्यतावाद एवम् मिहीन संशोधनवादमा फस्ने प्रवल सम्भावना भएपछि त्यहाँबाट पनि सम्बन्ध–विच्छेद गरेर विप्लवको नेतृत्वमा पुनः नेपाल कम्युनिस्ट पार्टी निर्माण भयो । त्यही नेपाल कम्युनिस्ट पार्टी एकीकृत जनक्रान्ति राजनीतिक कार्यदिशाका साथ वैज्ञानिक राज्यसत्ताको स्थापनार्थ यतिबेला नेपालको वर्गसङ्घर्षको विशिष्ट विन्दुमा आइपुगेको छ । यसबाट विश्वभरका उत्पीडित तथा श्रमजीवी जनता उत्साहित भइरहेका छन् भने साम्राज्यवादी तथा सबैखाले प्रतिक्रियावादी–फासिवादीहरू यतिबेला आतङ्कित हुन पुगेका छन् ।
२१ औँ शताब्दीको सर्वहारावर्ग र साम्राज्यवाद, विस्तारवाद तथा घरेलु प्रतिक्रिवादको बीचमा प्रत्यक्ष गुत्थमगुत्थ्वा लडाइँ भइरहेको यतिबेला विभिन्न रूपमा जनयुद्ध–माओवादी–माओवादसम्बन्धी विभिन्न बहस भइरहेका छन् । यी बहसका सकारात्मक र नकारात्मक दुवै कोण रहेका छन् । साथै, नेपाल आफ्नो राजनीतिक हैसियत समाप्त हुन लागेको आभास भएपछि प्रचण्डले हतार–हतार आफूले नेतृत्व गरेको पार्टी माओवादी केन्द्रलाई एमालेमा विलय गराइदिनुभयो । त्यो ‘महान् विलयन’ नेपाली माओवादी राजनीतिको ‘बाइप्रडक्ट’ देख्न थालेपछि भर्खरै प्रचण्डले अर्को माओवादी पार्टी जन्मन सक्ने र अझ ठूलो युद्ध हुन सक्ने चेतावनी पनि दिनुभएको छ । यो जनयुद्धको प्रभाव हो । यो महान् जनयुद्धले कुनै पनि भगौडालाई शान्तिसँग बस्न नदिने सङ्केत हो । यो बेला–बेलामा संशोधनवादीहरूले पनि क्रान्तिकारी जलप लगाएको स्वांग कसरी गर्छन् भन्ने कुराको सटिक उदाहरण पनि हो । २१ औँ शताब्दीको आजको दसकमा महान् जनक्रान्ति, त्यसको नेतृत्वकर्ता र आजको परिवेशको विषयमा हुने बहसहरू स्वाभाविक छन् । हामीले ती बहसलाई सकारात्मक संश्लेषण गर्न सक्नुपर्दछ । हामीलाई थाहा छ कि कसैको पूजा गरेर वा कसैलाई घृणा थुपारेर मात्र कुनै पनि परिवर्तनकामी अभियान पूरा हुन सक्तैन । महान् जनयुद्धको जगमा खडा भएको मालेमावादी सिद्धान्तबाट आलोकित एकीकृत जनक्रान्तिले आज बाह्य कोणबाट आउने प्रहारका विविध रूपहरूलाई निस्तेज तुल्याउँदै अगाडि जानु छ भने आन्तरिक रूपमा विकास हुने गैरकम्युनिस्ट–गैरसर्वहारावर्गीय चिन्तनका विरुद्धमा पनि निर्मम सङ्घर्ष गर्नु छ । यी दुवैका विरुद्धमा हुने निरन्तर सङ्घर्षले मात्र जनताले चाहेको, खोजेको र रोजेको आफ्नै वैज्ञानिक समाजवादी राज्यसत्ता प्राप्त गर्नेछन् । जनयुद्धको महान् अनुभवहरूद्वारा समृद्ध नेतृत्व र सिङ्गो पार्टी पङ्क्तिले मालेमावादलाई सैद्धान्तिक रूपमा आफ्नो मार्गदर्शक सिद्धान्त जसरी मानेको छ, त्यसको त्यो व्यावहारिक रूपमा पनि आलोकित हुन जरुरी छ । सिद्धान्त मान्नु एउटा कुरा हो, त्यसलाई जीवन–व्यवहारमा लैजानु अर्कै कुरा हो । सिद्धान्तअनुरूप जीवन–व्यवहारमा प्रतिबिम्बित भएन भने जनतामा आशङ्का बढाउँछ । यही कारण पनि विशव कम्युनिस्ट आन्दोलनमा कैयौँ विकृति आएको हो; अन्यथा कम्युनिस्ट नेता–पार्टीप्रति जनतामा विश्वास घट्ने मात्रा बढिरहनेछ । ‘विद्रोह गर्नु जनताको अधिकार हो’, ‘प्रतिक्रियावादी सत्ताका विरुद्ध नयाँ जनवादी सत्ताको स्थापना गर्न जनयुद्धको दिशामा अघि बढौँ’, ‘राज्यसत्ताबाहेक सबै भ्रम हो’ जस्ता क्रान्तिको आधारभूत प्रस्तावनालाई अगाडि सारेर जनयुद्धको थालनी भएको थियो । यही भावसागरमा डुबुल्किँदै दस बर्से जनयुद्धको राप, तापका बीचमा करिब ९ हजार नेपाली छोरा–छोरीले आफ्नो रगत बगाएका हुन् । क्रान्तिलाई, क्रान्तिकारी पार्टीलाई, क्रान्तिकारी सौन्दर्यलाई, क्रान्तिकारी विचारलाई बचाउँदै ऐतिहासिक दायित्व पूरा गर्नु नेपाल कम्युनिस्ट पार्टीको सामु ठूलो चुनौती छ । यो चुनौतीलाई नेपाल कम्युनिस्ट पार्टीले आत्मसात् गरेको पनि छ । २४ औँ जनयुद्ध दिवस मनाइरहँदा हामीले यो कुरा मनन गर्नैपर्दछ कि हामीलाई क्रान्तिकारी आदर्शलाई मार्ने, महान् सहिदका सपना बिर्सने तथा क्रान्तिकारी बिम्बलाई गल्र्यामगुर्लम ढाल्ने कुरालाई अस्वीकार्य छ । हामीले यो कुरामा पनि निरन्तर जोड दिनुपर्दछ कि गर्दै एकीकृत जनक्रान्तिको कार्यदिशाबाट विचलित हुने, मुक्तिको सपना छोड्दै सुधारवाद र आत्मसमर्पणवाद–सामाजिक फासिवाद अपनाउने, क्रान्ति असम्भव ठान्ने र साम्राज्यवादी शक्तिलाई अपराजेय देखाउने तथा त्यसको अतिशयोक्तिपूर्ण बयान गरी क्रान्तिकारी मन–मस्तिष्कमा भ्रम सिर्जना गरी राष्ट्रिय आत्मसमर्पणवादी बाटो पक्रने, दासता र दलाली गर्नेहरूप्रति घोर असहमति छ । 
साम्राज्यवादी शक्तिहरू नेपालका क्रान्तिकारी शक्तिहरूलाई घेराबन्दीमा पार्ने गुरुयोजनामा छ । नेपालको क्रान्तिकारी राजनीतिमा दक्षिणपन्थी नवसंशोधनवादसित सम्बन्ध विच्छेद गर्नु सामान्य कुरा थिएन । विचारबाट च्युत हुन खोज्ने, सिद्धान्त नै फेर्न खोज्ने, क्रान्तिलाई तिलाञ्जली दिन खोज्नेजस्ता क्रियाकलापले पार्टीलाई गम्भीर आघात पु¥याउँछ । नेता–पार्टीप्रति शङ्का गर्नुपर्छ तर शङ्कावादमा फस्नुहुन्न । इतिहासको खास–खास बेलामा विद्रोह अधिकार बन्छ र बुर्जुवा हेडक्वार्टरमा बमवर्षा गर्ने माओको निर्देशनको पालना आवश्यक बन्छ । हजारौँ सहिदहरूका रगत, लाखौँ जनताको मिहिनेत र श्रम, त्याग, तपस्या र बलिदान मिसिएको कुरा बिर्सन मिल्दैन । क्षणिक स्वार्थको लागि महान्् चीजहरू त्याग्न तयार हुनु गम्भीर वैचारिक विचलनको परिचायक हो । यो कुरा प्रचण्ड–बाबुरामहरूले देखाइसक्नुभएको छ । यस्तो परिस्थितिका बीच मालेमावादी सिद्धान्तलाई मान्नेहरूभित्र गम्भीर रूपमा बहसमा चलाउन आवश्यक हुन्छ । प्रचण्ड–बाबुरामहरूबाट सम्बन्ध–विच्छेद गर्नु भनेको एक किसिमको बुर्जुवा हेडक्वार्टरमाथि बमवार्ड पनि थियो । पार्टीजीवनका अनेकौँ अन्तरसङ्घर्षको क्रममा खारिएका आउनुभएका नेता तथा कार्यकर्ताहरूलाई आमूल परिवर्तनको ढोका खोल्न त्यति बल लगाइरहनुपर्दैन, इच्छाशक्तिको कुरा मात्र हो । समकालीन नेपाली राजनीतिमा असली परिवर्तनका संवाहक भनेको विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी मात्रै हो । नेपाल कम्युनिस्ट पार्टीसित महान् नेपाली जनता, क्रान्तिकारी अजेय शक्तिको रूपमा माक्र्सवाद–लेनिनवाद–माओवाद छ । वर्गसङ्घर्षलाई मुख्य कडीको रूपमा निरन्तर चलाएर पार्टीभित्र र बाहिर रहेका पुँजीपन्थीहरूलाई सखाप पारेर मात्र कम्युनिस्ट–सर्वहारावर्गले राज्यसत्तामाथि निर्णायक विजय प्राप्त गर्न सक्नेछन् । 
क्रान्तिकारी कम्युनिस्ट पार्टीले आफ्नो जीवनमा नयाँ जनशैलीको विकास गरेर मात्र सामूहिक प्रणालीको उन्नयन गर्न सक्दछ । महान् दस बर्से जनयुद्धमार्फत् राजतन्त्रलाई अन्त्य निरन्तर अघि बढिरहेको यो शक्तिको अगाडि कार्यभारका अनेकौँ चाङ रहेका छन् । राज्यको पुनर्संरचना गर्नु, सदीयौँदेखि कायम रहँदै आएको एकात्मक तथा एकीकृत शासन प्रणालीको अन्त्य गरेर स्वायत्त गणराज्यसहितको जनताको सङ्घीय गणतन्त्रात्मक राज्यव्यवस्था स्थापना गर्नु र जातीय लैङ्गिक, वर्गीय र क्षेत्रीय विभेदहरूलाई अन्त्य गर्दै समानतामूलक समाजको निर्माण गर्नुका साथै जातीय, क्षेत्रीय, वर्गीय, लैङ्गिक दृष्टिकोणले पछाडि पारिँदै आएका सीमान्तकृत एवम् पहुँचविहीन समुदायलाई राज्यको माथिल्लो निकायमा पु¥याउन र जनतालाई सार्वभौमसत्ता सम्पन्न तुल्याउँदै जनतालाई देशको वास्तविक मालिक बनाउनका निम्ति एकीकृत जनक्रान्ति पूरा गर्नु यसको कार्यभार हो । यो प्रक्रियालाई पूरा गर्न वर्गसङ्घर्ष चर्काउनुको कुनै विकल्प हुन्न । माओले “क्रान्ति हुनु छ भने क्रान्तिकारी पार्टी हुनैपर्छ, क्रान्तिकारी पार्टीबिना, माक्र्सवादी–लेनिनवादी क्रान्तिकारी सिद्धान्त र क्रान्तिकारी पद्धतिअनुसार बनेको पार्टीबिना, साम्राज्यवाद तथा यसका दलाललाई पराजित गर्न र विशाल जनसमुदायलाई नेतृत्व गर्न असम्भव छ” भन्नुभएको छ भने स्टालिनले त्यसमा यसरी थप्नुभएको छ, “एक नयाँ पार्टी, एक लडाकु पार्टी, एक क्रान्तिकारी पार्टीको आवश्यकता छ । यस्तो साहसिलो पार्टी, जसले सत्ता प्राप्त गर्ने सङ्घर्षमा सर्वहारावर्गको नेतृत्व गर्न सक्छ । यस्तो अनुभवी पार्टी जसले क्रान्तिकारी परिस्थितिका जटिल अवस्थाहरूमा पनि आफ्नो बाटो पहिल्याउन सक्छ र यस्तो चहकिलो पार्टी जो आफ्नो लक्ष्य प्राप्तिका निम्ति रहेका सारा लुकेका चट्टानहरूबाट जोगिएर अगाडि बढ्न सक्छ । यस्तो पार्टी नभईकन साम्राज्यवादको तख्ता पल्टाउने र सर्वहारा अधिनायकत्व कायम गर्ने कुरा सोच्नु निरर्थक हुन्छ ।” माओ र स्तालिनले भन्नुभएजस्तै नेपाली क्रान्तिको निम्ति अब त्यो आँट गर्नैपर्छ । जनयुद्ध विस्मृत विषय हुन सक्तैन । यसर्थ, नेपाल कम्युनिस्टले पार्टीलाई वैचारिक, राजनीतिक, सङ्गठनात्मक तथा सैद्धान्तिक रूपमा एकतावद्ध पारेर पार्टीलाई एकीकृत जनक्रान्ति सफलताको सन्निकट उभिएको छ । २४ औँ जनयुद्ध दिवस मनाउने सन्दर्भमा देशव्यापी यसको पक्षमा उर्लिएको जनउभारले पनि यो कुरालाई इङ्गित गरेको छ ।
१ फागुन, २०७५ का दिन विविध कार्यक्रमहरूका साथ २४ औँ जनयुद्ध दिवस मनाइँदैछ । २३ वर्षअघि अर्थात् १ फागुन, २०५२ का दिन नेपाली धर्तीमा महान् जनयुद्धको थालनी भएको थियो । सामन्तवाद र साम्राज्यवादलाई नेपाली धर्तीबाट बढार्दै जनगणतन्त्र नेपालको स्थापनाबिना उठाइएका हतियार बिसाइयो भने त्यो नेपाली जनता र विश्वभरकै श्रमजीवीवर्गप्रति विश्वासघात, धोका र बेइमानी हुनेछ, त्यसैले अन्तसम्म लैजाने दृढताबिना हतियार उठाउनु अपराध हुनेछ भन्ने प्रतिबद्धताका साथ नेपाली जनयुद्धको सुरुआत भएयता नेपाली श्रमजीवीवर्ग तथा उत्पीडित र क्रान्तिकारी जनताले हरेक वर्षको फागुन १ लाई जनयुद्ध दिवसका रूपमा मनाउँदै आएका छन् । 
म्हान् जनयुद्धको उत्तराद्र्ध हुँदै अलि पछिसम्म नेपाली राजनीति तीव्र रूपमा विभिन्न विशेषतासहित अघि बढ्यो । खासगरी, नेपाली राजनीतिमा ७ मङ्सिर, २०६२ मा सम्पन्न १२ बुँदे समझदारीयता संयुक्त जनआन्दोलन (२०६२÷६३), विस्तृत शान्तिसम्झौता, अन्तरिम संविधान, संविधानसभाको पहिलो र दोस्रो निर्वाचन, प्रचण्डमा आएको भयानक विचलन र माओवादी पार्टीमा भएको फुट, क्रान्तिकारी पार्टीको पुनर्गठनजस्ता राजनीतिक घटनाक्रमहरू धेरै अघि बढेका छन् । तत्कालीन सरकार प्रमुख गिरिजाप्रसाद कोइराला र ततलीन नेकपा (माओवादी) का अध्यक्ष प्रचण्डद्वारा हस्ताक्षरित विस्तृत शान्तिसम्झौतामार्फत् १० वर्षदेखि जारी सशस्त्र सङ्घर्षको अन्त्य भएको घोषणा पनि गरे पनि त्यो माओवादीको संस्थागत निर्णय थिएन । त्यसैले त्यो निर्णय संस्थागत मात्रै नभएर त्यो निर्णय अवैधानिक र अनैतिक पनि थियो । त्यसकारण त्यसलाई मान्नुको कुनै तुक छैन । यतिबेला पनि हामीले सगौरव भन्नुपरेको– जनयुद्ध महान् थियो, महान् छ र महान् रहिरहनेछ । आज पनि दस बर्से जनयुद्धमार्फत नेपाली जनताले अघि सारेका एजेन्डाहरूको सम्बोधन भएकै छैन । नेपाली क्रान्तिको वर्तमानमा दृढसङ्कल्प र एकताबद्धताका साथ एकपटक फेरि जगत् थर्कनेगरी एकीकृत जनक्रान्तिमा होमिँदै सामन्तवाद र साम्राज्यवादलाई पराजित गरी वैज्ञानिक समाजवादी राज्यसत्ता प्राप्तिको दिशामा अघि बढ्नुको विकल्प छैन । यही दिशातर्फको ठोस तयारी र कार्यान्वयन गरेर मात्र २४ औँ जनयुद्ध दिवस मनाउनुको सार्थकता रहन्छ ।
क्रान्ति, सङ्घर्ष वा विद्रोहको विकल्प मुर्दा शान्ति वा सामाजिक फासिवादी दलाल पुँजीवाद हुनै सक्तैन । जनमुक्ति सेना भनेको २१ औँ शताब्दीको प्रतिक्रान्ति रोक्ने शक्ति हो भन्नेहरू आज कहाँ पुगे ? महान् चिनियाँ क्रान्ति सम्पन्न गर्ने उही ‘महान्’ जनमुक्ति सेनाकै आडमा चीनमा कसरी प्रतिक्रान्ति भयो ? सोच्ने बेला आएको छ । चीनमा जस्तै विश्वासैविश्वासमा देङमण्डलीको पछि लागेर प्रतिक्रान्तिका साधन बनेजस्तै नेपाली जनमुक्ति सेनाको ठुलै हिस्साले किन क्रान्तिका लागि विद्रोहको झन्डा बोक्न सकेन ? यो सवाल नेताहरूमा पनि लागू हुने विषय हो । यी सवाल अवश्य पनि निकै गम्भीर र पेचिला छन् । वर्गीय समाजमा सबै कुरा वर्गीय नै हुन्छन् भनेझैँ जनबैरीका लािग जनयुद्ध दिवस आतङ्कको विषय हुन सक्ला तर मुक्तिकामी नेपाली जनताका लागि फागुन १ अर्थात् जनयुद्ध दिवस हर्र्ष, उल्लास र उत्प्रेरणाको दिन हो । यो नेपाली जनताले माओवादीको नेतृत्वमा नयाँ उद्घोषका साथ हतियार उठाएको दिन पनि हो । यसको इतिहास विद्रोह, बलिदान, त्याग र आत्मोत्सर्गको समष्टिमूल्यको रूपमा निर्माण भएको छ । महान् ध्वंस र महान् निर्माणको ऐतिहासिकतासित गाँसिएको यो वास्तवमा निकै महान् छ ।
महान् जनयुद्ध सामन्तवाद र साम्राज्यवाद–विस्तारवादका विरुद्ध नेपालमा क्रान्ति सम्पन्न गर्दै समाजवाद र साम्यवादको दिशामा अगाडि बढ्नका लागि प्रारम्भ गरिएको थियो । दस वर्षको अवधिमा यस महान् जनयुद्धले  रणनीतिक रक्षा र सन्तुलनको चरण पार गरी प्रत्याक्रमणको चरणमा प्रवेश गरेको थियो । यस अवधिमा ७ डिभिजनसम्म जनमुक्ति सेनाको निर्माण भएको थियो । देशका विशाल ग्रामीण क्षेत्र अर्थात् ८० प्रतशित भू–भागमा आधारइलाका र जनसरकारहरू बनेका थिए । त्यहाँ जनता आफैँले नयाँ सत्ताको अभ्यास गरेका थिए । नयाँ संस्कृति क्रमशः विकास हुँदै थियो । यसैबीच प्रचण्डलगायतको एउटा समूहमा गम्भीर प्रकारको दक्षिणपन्थी संशोधनवादी विचलन आयो । उसले देशी तथा विदेशी प्रतिक्रियावादीहरूसित निर्लज्ज साँठगाँठ तथा आत्मसमर्पण  गरी महान् जनयुद्धको विसर्जन गर्न पुग्यो । प्रतिक्रिया सत्ताका अगाडि लम्पसार पर्दै प्रचण्ड–बाबुरामहरूले सडकबीचमा अलपत्र छोडेको रातो झन्डालाई विप्लवको नेतृत्वमा रहेको नेपाल कम्युनिस्ट पार्टीले उठाएको छ । यो रातो झन्डा उठाउने कुरा पनि सामान्य थिएन । यस अवसरमा कमरेड विप्लव र उहाँको नेतृत्वमा रहेको सिङ्गो नेतृत्व पङ्क्तिलाई लाल सलाम भन्नैपर्दछ । यस महान् ऐतिहासिक दिवसको अवसरमा उत्पीडित जनसमुदाय र सर्वहारावर्गको मुक्तिका लागि एकीकृत जनक्रान्ति सम्पन्न गरी वैज्ञानिक समाजवाद र साम्यवादको दिशामा अगाडि बढ्नका लागि प्रतिबद्धता जाहेर गरौँ । बाटो जति कठीन भए पनि इतिहासको अग्रगतिलाई रोक्न सक्ने आजसम्म कोही जन्मिएकै छैन । ओली–प्रचण्डको नेतृत्वमा रहेको वर्तमान सामाजिक दलाल तथा फासिवादी सरकार चौतर्फी असफल र बद्नाम हुँदै गइरहेको छ । जनताको सङ्घर्षको आयाम अझ व्यापक बन्दै गएको छ । त्यसैले समवेत स्वरमा भनौँ– नयाँ प्रतिवद्धताका साथ २४ औँ जनयुद्ध दिवस मनाऔँ, एकीकृत जनक्रान्तिको दिशामा प्रतिबद्धता बनौँ । महान् जनयुद्धको भावधारासित एकीकृत जनक्रान्ति जोड्नु र महान् सपना साकार पार्न एकीकृत रूपमा जनमुक्तिको महासमरमा हेलिनुमै २४ औँ जनयुद्ध दिवस मनाउनुको सार्थकता रहनेछ । 

२९ माघ, २०७५
 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video