प्रमुख समाचार
May 28, 2020
भारतबाट आएकाको स्वाब सङ्कलन
म्याग्दी,  जेठ १५ म्याग्दीमा भारतबाट आएकाहरुको कोरोना भाइरस परीक्षणका लागि बेनीमा स्वाब सङ्कलन गरिएको छ । बेनीको न्यू वेष्ट पोइन्ट आवासीय माविको क्वारेन्टिनमा बसेका १४ जनाको पिसिआर विधिबाट कोरोना परीक्षण गर्न स्वाब सङ्कलन गरिएको स्वास्थ्य कार्यालय म्याग्दीले जनाएको छ । कार्यालय प्रमुख एकनारायण लम्सालले सङ्कलित स्वाब परीक्षणका लागि बुधबार पोखरास्थित क्षेत्रीय स्वास्थ्य प्रयोगशालामा पठाइएको जानकारी दिनुभयो । यसअघि कोरोनाविरुद्धको अभियानमा अग्रभागमा रहेर काम गरेका १५ जना सुरक्षाकर्मीसहित ५२ जनाको स्वाब परीक्षण गरिएको थियो । सबैको परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । बेनीको म्याग्दी बहुमुखी क्याम्पस र वेष्ट पोइन्टको क्वारेन्टिनमा भारतबाट आएका ७० जना छन् । जिल्लामा आएको पाँच दिनपछि कोरोना परीक्षणका लागि स्वाब सङ्कलन गरिने स्वास्थ्य कार्यालयले जनाएको छ । भारतीय नाकामा आएकालाई स्थानीय प्रशासन र जिल्लाका स्थानीय तहसँग समन्वय गरी उद्धार गरेर ल्याउने क्रम जारी छ । बुधबारमात्र १५ जना भारतीय नाकाबाट उद्धार गरेर ल्याउँदै गरिएको म्याग्दीका प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले बताउनुभयो । जेठ ९ गते आएका १४, १० गते आएका २९, ११ गते आएका १८, १२ गते आएका नौजना थिए । भारतमा अलपत्र परेकाहरु आउने क्रम बढेसँगै बेनीमा क्वारेन्टिनको क्षमता बढाएर २०० जना क्षमताको बनाउन लागिएको प्रजिअ ढकालले बताउनुभयो । बेनीको वेष्ट पोइन्टमा ३० र म्याग्दी क्याम्पसमा ५१ जना क्षमताको क्वारेन्टिन बनाइएको छ । यसैगरी शैक्षिक तालिम केन्द्रको भवनमा १५ श्ययाको आइसोलेशन कक्ष बनाइएको छ । क्वारेन्टिनमा बस्नेलाई सम्बन्धित स्थानीय तहले खाना तथा खाजाको व्यवस्था गरेका छन् । छिमेकी जिल्ला बागलुङको बडीगाड र तमानखोला गाउँपालिकामा ६ जना कोरोना सङ्क्रमित भेटिएसँगै म्याग्दी र बागलुङका सबै सिमानामा आवतजावतमा कडाइ गरिएको छ । तमानखोला गाउँपालिकाको सिमानामा रहेको मालिकाको सोलेडाँडामा सशस्त्र प्रहरीसहितको चेक पोष्ट राखिएको छ । रत्नेचौर, भकिम्ली, ताराखोला, रुमलगायतका नाकामा पनि आवतजावतमा कडाइ गरिएको छ । –––


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video