प्रमुख समाचार
May 18, 2020
छ महिनादेखि सञ्चारविहीन दार्चुलाको त्रिदेशीय सीमा
नरेन्द्रसिंह कार्की
दार्चुला, जेठ ५
दार्चुलाको त्रिदेशीय सीमा क्षेत्र व्यास गाउँपालिकाको छाङ्गरु र तिङ्करमा छ महिनादेखि सञ्चार अवरुद्ध भएको छ । गत मङ्सिरमा व्यासका स्थानीयवासी खलङ्गा झरेसँगै त्रिदेशीय सीमा क्षेत्र सञ्चारविहीन भएको हो । छाङ्गरुमा नेपाल टेलिकमको स्काइ टावर स्थापना गरिएको भए पनि अत्यधिक हिमपातका कारण गत मङ्सिरदेखि अवरुद्ध भएको नेपाल टेलिकम दार्चुलाले जनाएको छ । “हिमपातले छाङ्गरुमा राखिएको स्काइ फोन सेवाको टावरमा राखिएको सोलार र अन्य उपकरणमा क्षति पुगेको हुनसक्छ”, टेलिकम दार्चुलाका प्रमुख कृष्णबहादुर गुरुङले भन्नुभयो । बढी हिमपातले हरेक वर्ष टावरमा क्षति पुर्याउँदै आएको छ । गत वर्ष हेलिकप्टरमार्फत टेलिकमका कर्मचारी गएर टावर निर्माण गरेको तर यो वर्ष छाङ्गरु पुगेर टेलिफोन टावर सञ्चालन गर्न बाटो अवरुद्ध हुँदा सम्भव नभएको टेलिकम प्रमुख गुरुङको भनाइ छ । “व्यासमा गत वर्ष सोलारमा ठूलो क्षति पुगेको थियो, अहिले के के क्षति भएको छ भन्ने यकिन जानकारी छैन”, उहाँले भन्नुभयो, “यो क्षेत्रमा बढी हिमपात हुने हुँदा सोलार प्रणाली र रेडियो उपकरणमा क्षति पुग्ने गरेको छ ।” उहाँका अनुसार स्काइ फोन सेवा पुनः सञ्चालन गर्न बन्दाबन्दीका कारण सामान ल्याउनै समस्या छ । “जिल्ला ल्याए पनि व्याससम्म पुग्न सकिने अवस्था अहिले छैन”, उहाँले भन्नुभयो । बाटोघाटो नै नभएको अवस्थामा तत्काल नै सेवा सञ्चालन गर्ने अवस्था नरहेको टेलिकम दार्चुलाले जनाएको छ । व्यासका स्थानीयवासी पनि गाउँ जान पाएका छैनन् । अहिले छाङ्गरु र तिङ्करमा नेपाल प्रहरी र सशस्त्र प्रहरी पुुगेका छन् । व्यासमा रहेको स्काइ टावरले छाङ्गरु र भारतका अधिकांश बस्तीमा कभरेज पुर्याउँदै आएको थियो । भारतका गुञ्जी, छायालेक, कुटीका बासिन्दा र भारतीय सुरक्षाकर्मीले अधिकांश समय नेपालकै फोन सेवा प्रयोग गर्दै आएका छन् । अहिले व्यासमा रहेको फोन सेवा सञ्चालन नहुँदा सुरक्षाकर्मीलाई समेत सञ्चारमा समस्या भएको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरी गत वैशाख ३१ गते छाङ्गरु र तिङ्कर उक्लिएदेखि फोनमार्फत सम्पर्क हुन नसकेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायब उपरीक्षक पदमबहादुर विष्टले बताउनुभयो । “सशस्त्र र नेपाल प्रहरीको भिएचएफ सञ्चार सेटमार्फ सम्पर्क हुने गरेको छ” उहाँले भन्नुभयो, “मोबाइलको टावर बिग्रिएका कारण फोनमार्फत सम्पर्क छैन ।” उनीहरुले माथिबाटै सञ्चारसम्पर्कमा आउनुपर्ने बाध्यता छ । खोँचमा रहेको छाङ्गरुमा टावर हुँदा विगतमा पनि तिङ्करले फोन गर्न समस्या झेल्दै आएको थियो । अहिले झन छाङ्गरुमा पनि फोन बनाउन पहल हुन नसक्दा गएका सुरक्षाकर्मीले पनि समस्या झेलेका छन् । छाङ्गरुका स्थानीय सुधा बोहराले फोन सेवा नहुँदा सम्पर्कविहीन भएको बताउनुभयो । गत वैशाख ३१ गते सेनाको हेलिकप्टरमार्फत गाउँ पग्नुभएका बोहराले गाउँ गएदेखि कहीँ फोन सम्पर्क गर्न पाउनुभएको छैन । उहाँले गाउँ जानुअघि स्काइ र नमस्ते सीम लगेको बताउँदै भन्नुभयो, “सीम लगियो, टावर छैन । टावर बन्यो भने सम्पर्क गर्न चाहिन्छ भनेर सीम लगेको हुँ ।” उता भारतले व्यास क्षेत्रमा टेलिफोन टावर राखेको छैन । भारतीय नागरिक पनि नेपालकै टेलिकमको सेवा प्रयोग गर्दै आएका थिए । दार्चुलाकै व्यास गाउँपालिका–१ छाङ्गरुमा स्काई, वडा नम्बर २ को राप्लामा नमस्ते, दुहुँ र व्यासकोशीमा क्षेत्र कौचुलामा स्काई नमस्ते टावर सञ्चालनमा ल्याइएको छ । छाङ्गरुमा नमस्तेको त्रि जी फोन सेवा राख्न सर्भे भए पनि बन्दाबन्दीका कारण काम शुरु गर्न नसकिएको टेलिकमले जनाएको छ । नौ वटा स्थानीय तहका २४ ठाउँमा टेलिकमका टावर निर्माण र तीन ठाउँमा सर्वेक्षण गरेर सेवा प्रवाह गरेको नेपाल टेलिकम दार्चुलाले जनाएको छ । टेलिकमको पहुँच जिल्लाभरि पु¥याउने उद्देश्यले हरेक स्थानीय तहमा टावर निर्माण गरी सेवा प्रवाह भइरहेको टेलिकमले जनाएको छ । टेलिकम दार्चुलाका अनुसार महाकाली नगरपालिकाभित्र छ वटा, शैल्यशिख नगरपालिकामा चार, मालिकार्जुन गाउँपालिका क्षेत्रमा पाँच, दुहुँ, नौगाड र व्यास गाउँपालिकामा दुई÷दुई, अपिहिमाल, मार्मा र लेकममा एक÷एक वटा टावर निर्माण भएर सञ्चार सेवाको पहुँच पुगेको टेलिकम प्रमुख गुरुङले जानकारी दिनुभयो । चालु आर्थिक वर्षभित्र व्यासको छाङ्गरु, दुुहुँ र अपिहिमाल गाउँपालिकामा टेलिकमको टावर थप्ने गरी सर्भेको काम भएको गुरुङले जानकारी दिनुभयो । “बन्दाबन्दीका कारण यी क्षेत्रमा काम शुरु हुन सकेको छैन”, उहाँले भन्नुभयो, “बन्दाबन्दी खुल्ने बित्तिकै यी क्षेत्रमा काम शुरु हुने छ ।” टेलिकमले व्यास गाउँपालिका–१ छाङ्गरु, दुहुँ गाउँपालिका–१ ब्रह्मलेक तथा अपिहिमाल गाउँपालिका–३ पाथामा सर्भे काम भइसकेको जनाएको छ । –––


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video