समाज
May 09, 2020
रोकियो घाँटुको परम्परा
रामबहादुर थापा
बागलुङ,  वैशाख २७
  सदियौँ पुरानो सती घाटु यसपालि देखाइएन । न कोही घाटुनी बने, न नाचे । महिना दिन चल्ने घाटु सम्झिइयो मात्र । पुस्तैनी परम्परा अपर्झट रोकियो । गलकोट नगरपालिका–१० पाण्डवखानीमा प्रचलित ऐतिहासिक सती घाटु पनि कोरोना कहरबाट अछुतो रहेन । वैशाख कृष्ण औँसीमा शुरु भइ जेठ तेस्रो साता विर्सजन गरिने घाटु अर्को वर्ष धकेलियो । “रोकिने भएपछि घाटुका गुरुहरुसँग शरण प¥यौँ, अब सती घाटुका लागि अर्को वर्ष कुनुपर्ने भयो”, घाटु संरक्षण समितिका संयोजक गिरिप्रसाद थापाले भन्नुभयो, “संस्कृति देखाउन नपाउँदा अप्ठ्यारो त लागेको छ, तर के गर्ने समयले यस्तै पारेपछि ।” घाटु नाचका लागि कम्तीमा पनि १५÷२० जना चाहिने भएकाले कोरोनाको जोखिमले त्यो सम्भव नभएको उहाँको भनाइ छ । घाटुका गुरुबासमेत रहनुभएका थापाले यसअघि कहिल्यै घाटुनाच रोकिएको आफूले थाहा नपाएको उल्लेख गर्नुभयो । “पहिलेपहिले गुरुबाहरुको निधन हुँदा रोकिएको हुनसक्छ, तर हाम्रो पालामा पहिलोपटक यस्तो भयो”, उहाँले भन्नुभयो । औँसीबाट शुरु हुने भए पनि बुद्ध पूर्णिमाका दिन विशेष रुपमा घाटु देखाउने चलन छ । सोही बेला पाण्डवखानीमा लाग्ने वैशाखे पूर्णिमा मेलाको मुख्य आकर्षण पनि सती घाटु बन्ने गर्छ । यो वर्ष उक्त मेला पनि कोरानाकै कारण स्थगन भयो । मेला आयोजक घुम्टे सांस्कृतिक तथा प्राकृतिक संरक्षण मञ्चले पनि घाटुको संरक्षण र प्रवद्र्धनमा सघाउँदै आएको छ । “यहाँको मेलासँगै सती घाटु जोडिन्छ, घाटु हेर्नकै लागि टाढाटाढाबाट मानिस आउँछन्”, मञ्चका सहसचिव सुरेश छन्त्यालले भन्नुभयो, “यो वर्ष कोरोना महामारीका कारण मेला नभए पनि अर्को वर्षबाट निरन्तरता पाउँछ ।” वर्षेनी माघमा फुक्ने (शुरु गर्न मिल्ने) भए पनि वैशाख कृष्ण औँसीदेखि मात्र पाण्डवखानीमा घाटु देखाइन्छ । जेठ अन्तिम साता समापन गरेपछि माघसम्म घाटु नचाउन मिल्दैन । यसपालि जेठ २० मा घाटु विसर्जन गर्ने तयारी थियो । जसलाई ‘घाटु सेलाउने’ पनि भनिन्छ । घाटु शुरु हुँदा र विर्सजनमा विधिवत पूजाआजा हुन्छ । बिदाइपछि घाटुनीलाई बाटोमा एक्लैदुक्लै हिँड्दा बाधा नआओस् भन्ने कामना गरिन्छ । “देवीदेउताले छोएका घाटुनीको शरण पर्ने, विधिवत पूजा गर्ने काम हुन्छ”, गुरुबा थापाले भन्नुभयो, “बिदाइमा कारुणिक गीत गाइन्छ, नाच पनि त्यस्तै हुन्छ ।” नाच्ने युवतीलाई घाटुनी भनिन्छ । तीनदेखि पाँच–छ जनासम्म घाटुनी हुन्छन् । तत्कालीन पर्वते राजा परशुराम र रानीको जीवनकथामा आधारित सती घाटु गीतिनाटकको शैलीमा प्रस्तुत गर्ने गरिन्छ । युद्धमा राजाको वीरगतिपछि रानीहरुको बिलौना गीत र नृत्यमार्फत घाटुमा अभिव्यक्त हुने गर्छ । राजाको वियोगमा मुर्छित रानी सती गएको कथालाई गीतिलयमा ढालेर रानीको प्रतीकका रूपमा घाटुनीहरु नृत्य गर्छन् । गीतकै सुरमा घाटुनीहरुको आँखा बन्द हुने, ढल्ने र पुनः गीतबाटै उनीहरुलाई उठाउने गरिन्छ । महिला र पुरुष कलाकारले समूहमा बसेर कारुणिक गीतहरु गाउँछन् । घाटुनीहरु गीतको सुरमा लठ्ठिएर नाच्छन् । बिहान शुरु भएको घाटु मध्यरातपछि मात्र पूरा हुन्छ । नृत्यकै क्रममा आँखा पूरै बन्द हुनुमा कुनै ‘अलौकिक शक्ति’ रहेको जनविश्वास छ । सती घाटुमा कथाअनुसार अइरा, सतीलगायत विभिन्न खण्डहरु हुने गर्छन् । अइरा खण्डमा रोपाइँ र ढ्याङ्ग्रो नाच देखाउने गरिन्छ । “सती खण्डमा घाटुनीहरु मुर्छित भएर ढल्छन्, जुन क्षण एकदम कारुणिक हुन्छ”, गुरुबा थापाले भन्नुभयो । भगवान् शिवजीले जोगीको भेषमा राजासँग निहुँ खोजेपछि रानी मुर्छित भएर ढलेको कथा सती घाटुमा छ । घाटुनीहरु गीतबाटै ढल्ने र गीतबाटै उठ्ने हुँदा सती घाटुमा अदृश्य शक्ति रहेको विश्वास गरिन्छ । पाण्डवखानीको घाटु नाचको कुनै लिखित इतिहास नभए पनि तत्कालीन गलकोटे राजा खानी खन्ने क्रममा त्यहाँ जाँदा घाटु नाच पनि सँगै लिएर गएको गाउँले बताउँछन् । पाण्डवखानीसँगै छिमेकी गाउँ रिघा, सिसाखानीलगायतका ठाउँमा पनि सती घाटु नचाउने गरिन्छ । बागलुङमा सबैभन्दा बढी प्रचलित र लोकप्रिय सती घाटु पाण्डवखानीकै मानिन्छ । घाटुलाई स्थानीय मगर समुदायले जोगाएका छन् । –––


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video