समाज
May 06, 2020
‘लकडाउन’ले वन्यजन्तुलाई राहत, सरुवा रोगसमेत नियन्त्रण
– हेमन्त केसी
जाजरकोट, वैशाख २४
विगतका वर्षहरुमा सर्वसाधारणको चहलपहल हुने कर्णाली प्रदेशको शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज तथा अन्य सामुदायिक वनका पाटनहरु यो पटक सुनसान भएका छन् । चोरी, पैठारी नियन्त्रणका लागि चारैतिरका नाकामा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले सुरक्षा दिएपछि निकुञ्ज तथा अन्य वन क्षेत्र सुनसान भएका हुन् । त्यस्तै यहाँका सामुदायिक वन समूहमा पनि चलहपहल शून्य भएको छ । यार्सागुम्बा सङ्कलनका लागि विगतमा यहाँ पुग्ने सर्वसाधारण योपटक कोरोना भाइरसबाट जोगिन र जोगाउन भन्दै यार्सागुम्बा सङ्कलन बन्द गरिएपछि निकुञ्ज र समुदायिक वन सुनसान देखिएको छ । उपल्लो डोल्पाका चारवटा स्थानीय तहका १५ भन्दा बढी सामुदायिक वन र मुगुको एउटा स्थानीय तहको एक दर्जन पाटनमा यार्सागुम्बा पाइने गर्छ । त्यस्तै शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जको अधिकांश भागमा यार्सागुम्बा पाइने गरेको छ । सर्वसाधारणको चहलपहल हुने निकुञ्जमा लकडाउन गरिएपछि त्यहाँका जीवजन्तुले लामो समयपछि स्वतन्त्रतासमेत पाएको विज्ञहरुको भनाइ छ । मानिसबाट वन्यजन्तुमा र वन्यजन्तुबाट मानिसमा कुनै सङ्क्रमण नसरोस् भनेर १३ वैशाखमा निकुञ्जमा यार्सागुम्बा सङ्कलन कार्य बन्द गरिएको थियो । त्यस्तै जिल्ला विपद् व्यवस्थापन समितिले डोल्पाका सबै स्थानीय तहमा पाइने यार्सागुम्बा सङ्कलनमा समेत रोक लगाएको डोल्पाका प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले जानकारी दिनुभयो । सबै ठाउँमा भीडभाडका साथै चोरी निकासी एवं वन्यजन्तुमा समेत असर पर्ने भएपछि बन्द गरिएको उहाँको भनाइ छ । जैविक विविधतामा समेत लकडाउनले फाइदा गरेको छ । त्यस्तै रारा राष्ट्रिय निकुञ्जमा हुने चोरी निकासीसमेत ठप्प भएको छ । मुगुको मुगुम कार्मारोम गाउँपालिकामा पर्ने एक दर्जन पाटनमा यार्सागुम्बा पाइने भए पनि योपटक प्रतिबन्ध लगाउँदा पाटनहरु सुनसान भएका छन् । यी पाटनमा सबैभन्दा बढी वन्यजन्तु पाइने गरेका छन् । यार्सागुम्बासँगै चोरी निकासी अत्यधिक हुने यी पाटनमा लकडाउनसँगै मानिस नजाँदा चोरी निकासी रोकिएको छ । निर्धक्कका साथ वन्यजन्तुले आफ्नो आहार विहार गर्न पाएको मुगुका पत्रकार अच्यूत भण्डारीले जानकारी दिनुभयो । रारा राष्ट्रिय निकुञ्जको अधिकतम भाग मुगु र केही भाग जुम्ला जिल्लामा पर्छ । निकुञ्जको मुख्य आकर्षण मनोरम हिमाली काखमा हरिया वनजङ्गलले घेरिएको कञ्चन पानी सल्बलाउने रारा ताल नै हो । यस तालको क्षेत्रफल १०.६५ वर्ग किमी छ । करिब पाँच किमी लम्बाइ, तीन किमी चौडाइ र १६७ मिटर गहिराइ रहेको यो ताल नेपालको सबैभन्दा ठूलो तालका रूपमा परिचत छ । रारा ताल सन् २००७ मा रामसार सूचीमा सूचीकृत हुनुले यसको अन्तर्राष्ट्रिय महत्वलाई समेत दर्शाउँछ । तालको दक्षिणतर्फ चुचेमारा टाकुरा (४०८७ मि), उत्तरतर्फ रुम काँध (६७३१ मि) र मालिका काँध (३४४४ मि) जस्ता चुचुरा पर्छन् । यिनीहरूले रारा राष्ट्रिय निकुञ्जको मनोरम प्राकृतिक दृश्य एवं सुन्दरतालाई अझ गाढा तुल्याएका छन् । हिमाली कालो भालु, थार, हाब्रे, घोरल, रतुवा, कस्तुरी मृग, बँदेल आदि गरी ५१ प्रजातिका स्तनधारी वन्यजन्तु तथा डाँफे, मुनाललगायत २७२ प्रजातिका चराचुरुङ्गी यस निकुञ्जमा पाइन्छन् । निकुञ्जअन्तर्गत रारा ताल र वरिपरिको कोणधारी वन क्षेत्र स्थानीय र बसाइँ सरी आउने विभिन्न चराचुरुङ्गीको उपयुक्त वासस्थान बन्न पुगेको छ । यहाँ नेपालका सातमध्ये तीन प्रजातिका रैथाने असला माछा पाइन्छन् । जाजरकोटको बारेकोट गाउँपालिका, कुशे गाउँपालिका र जुनिचाँदे गाउँपालिकामा समेत वन्यजन्तु पाइने र चोरी हुने गरेकामा लकडाउनका कारण चोरी निकासीमा कमी आएको बताइएको छ । सडक सञ्जालसँग नजोडिएका स्थानमा वन्यजन्तुलाई लकडाउनले राम्रो प्रभाव पारेको त्यहाँका डिभिजन वन कार्यालयले जनाएको छ । यार्सागुम्बा सङ्कलन गर्दा अत्यधिक मानव चापका कारण वन्यजन्तुमा प्राकृतिक गुण हराइरहेका बेला मानव निषेध हुँदा स्वतन्त्रतापूर्व बस्न पाएको छ । प्राकृतिक वासस्थानमा कोलाहलका कारण वन्यजन्तुले थातथलो समस्या भइरहेको समयमा वन्यजन्तुको वासस्थानमा मानव निषेध गर्दा वन्यजन्तुले राहत महसुस गर्ने प्रतिनिधिसभा सदस्य एंव पूर्वमन्त्री सत्य पहाडीले बताउनुभयो । निकुञ्जमा मानवीय क्रियाकलाप रोकिँदा वन्यजन्तु र जैविक विविधतामा सकारात्मक असर पर्ने शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जका छत्र खड्काले जानकारी दिनुभयो । मानिसकै क्रियाकलापबाट वन्यजन्तुको वासस्थानमा समेत वर्षेनी असर पर्दै गएको छ । मानव र वन्यजन्तुको बीचमा मानवीय द्वन्द्वसमेत बेलाबेलामा हुने गरेको छ । वन्यजन्तुसम्बन्धी अध्ययन गरिरहेका गोविन्द सिंहका अनुसार प्राकृतिक वासस्थानमा कोलाहल नहुने हो भने मानव र वन्यजन्तुबीच द्वन्द्वसमेत रोकिन्छ । लकडाउनको समयमा पनि निकुञ्ज क्षेत्रभित्र सुरक्षा गस्ती जारी हुने भएकाले वन्यजन्तु तस्करीका घटना कम हुने गर्छ । मानवीय क्रियाकलाप नहुने हो भने मानवबाट वन्यजन्तुमा रोग तथा त्राससमेत कम हुने गर्छ । त्रास कम हुँदा आफ्नो क्षेत्रमा निर्धक्कका साथ वन्यजन्तु आहार विहार गरेर आफूलाई सुरक्षित महसुससमेत गर्ने अनुसन्धानकर्ता सिंहको भनाइ छ । उहाँले भन्नुभयो, “मानिसले जानेर वा नजानेर धेरै वन्यजन्तुको हानिनोक्सानी गरेको छ, यसमा सबैभन्दा पहिला स्थानीय सरकारले जनचेतना जगाउनु जरुरी छ ।” अहिलेको यार्सागुम्बा रोकले पनि डोल्पाका पाटनमा पाइने वन्यजन्तुको अत्यधिक हुने चोरी, निकासी तथा पैठारीमा कमी आएको सिंहको भनाइ छ । शे फोक्सुण्डोमा के के पाइन्छ ? शे–फोक्सुण्डो नेपालको सबैभन्दा ठूलो राष्ट्रिय निकुञ्ज हो । यो डोल्पा र मुगु जिल्लामा फैलिएको छ । नेपालको पश्चिमी दुर्गम हिमालपारि क्षेत्रमा रहेको यस निकुञ्जमा तिब्बती वातावरणमा पाइने प्राकृतिक सम्पदा पाइन्छ । यहाँ तल्लो हिमाली क्षेत्रदेखि लिएर उच्च हिमाली र हिमालपारि क्षेत्रको तिब्बती भूमिसम्मको भू–धरातल भएकाले हिउँ चितुवा, तिब्बती खरायो, चिरु, तिब्बती गधा, नाउरलगायत हिमाली क्षेत्रमा पाइने वन्यजन्तु पाइन्छन् । यस निकुञ्जलाई डाँफे, मोनाल, चिरलगायत २०० प्रजातिका पक्षी, ६ प्रजातिका सरिसृप र ३२ प्रजातिका पुतलीले जैविक विविधतामा अझ धनी बनाइएको छ । यहाँ पाइने हिउँचितुवाको आहार–बिहारबारे वैज्ञानिक अनुसन्धानको नतिजाले यो निकुञ्ज हिउँ चितुवाका लागि सबैभन्दा उपयुक्त वासस्थान प्रमाणित भएको छ । काञ्जिरोवा दक्षिण (६,८६६ मि), सिकाल्पो खाङ (६,५५६ मि), वेज चुचुरो (७,१३९ मि) जस्ता हिमशिखरहरू र कतिपय हिमनदीले यस निकुञ्जलाई अनुपम प्राकृतिक सुन्दरता प्रदान गरेका छन् । निकुञ्जको लगभग मध्यभागमा रहेको नेपालको सबैभन्दा गहिरो फोक्सुण्डो ताललाई सन् २००७ मा रामसारमा सूचीकृत गरिएको छ । ११औँ शताब्दीमा निर्मित शे–गुम्बा पनि यही छ । गुम्बामा तिब्बती बौद्ध धर्मको शिक्षा दिइन्छ । यो राष्ट्रिय निकुञ्जलाई विश्व सम्पदा सूचीमा राख्न सिफारिस गरिएको छ । –––


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video