विचार/अन्तरवार्ता
May 06, 2020
भूकम्पले घरवारविहीन हुँदा दरबार जोडनेहरु कोरोनाको विपत्तिको बेलामा समाजसेवाको खेती गदै
यतिवेला विश्वभर कोरोना भाइरस अर्थात (कोभिड–१९) को संक्रमणले महामारीको रुप लिएको छ । अर्थात यो भाइरस दिन दुईगुणा र रात चौगुणाको दरले विश्वभर फैलिरहेको छ । यसको असर हाम्रो देशमापनि परेको छ भने महामारीका कारण लकडाउन भएको हप्तौ भैसकेको छ । धेरैको रोजगार धर्मराएको छ त कैयनको रोजीरोटी नै गुमेको छ । ज्याला–मजदुरी गर्नेहरु बेहाल भैसकेका छन् । यसको असर दिनानुदिन बढिरहेको छ । यो अवस्थामा मध्यम वर्गको पनि हालत खराब बनिसकेको छ ।

सम्पन्नहरु विपन्न तथा मध्यमवर्गको मजवुरीमा रजाइँ गर्ने होडमा छन् । स्वचालित अनि स्वघोषित महान समाजसेवीको उपाधिका साथ राहतदाताको रुपमा उनीहरु देखिएका छन् । समाजसेवीहरुले आफूले मागीमागी त्यसको पचास प्रतिशतभन्दा बढी आफ्ना आसेपासेलाई राखेर बाँकी बचेकोमात्र विपन्नहरुको बेइज्जत गर्नेगरी राहत बाँड्ने गरेको दृष्‍य देखिएको छ । यस्तो गजबको होडवाजी यतिखेर यो लकडाउनमा चलिरहेको छ । कोही चुनावी क्षेत्रलाई टार्गेट गरेर विगतको महाभूकम्पमा जस्तै राहत वाँड्ने कार्य गरिरहेका छन् त, कोही स्वघोषित विपन्न वर्गको नेमलिष्ट तयार पारेर राहतको खेती गर्दै लकडाउनमा नयाँ विजनेशको रुपमा सञ्चालन गर्नेहरुको पनि कमी भने छैन । सबैसंग राहतको नाममा दाम तथा सामान मागेर राहत बाँडेर फोटो छपाउन र पोस्टाउन होडबाजी गर्ने नव–प्रवेशीहरुको राहत दिने कार्यशैली काईदाको देखिन्छ ।

भनिन्छ, जुन बेला देशमा विपत्ति हुन्छ, त्यतिबेला समाजसेवाको खेती निकै मौलाउँछ । विगतको भूकम्पले कति घरवारविहीन हुँदा कतिका दरबार जोडिए । पीडितका नाममा सहयोगका अलि अलिकति छरे तर ठूलो हिस्साले आफ्नै गोजी भरे । यो कपोकल्पित या भ्रामक होईन यो हामीले भोगीरहेको वास्तविकता हो । देशलाई विपद पर्दा कतिलाई समाजसेवाको नाममा चिठ्ठा नै पर्ने गरेको छ । त्यो चिठ्ठाको कारण कैयन मालामाल बनेका छन् ।
यस्तो अवस्थामा सम्पत्ति जोड्ने होडवाजीमा उनीहरु मरिमेटेरै लागिपर्ने गरेका छन् । अरुबेला विदेशीहरुसंग रोएर मागेर ल्याएको केहि सामानहरु अलिअलि दिएजस्तो गर्ने केही समाजसेवीको पगरी भिरेकाहरु यतिबेला भने गुमनाम बनेका छन। यतिबेला उनिहरुलाई खोज्नुपर्ने अवस्था भएको देखिन्छ । कहाँ छन् के गर्दै छन्, कतै राहत दिने बहानामा आफ्नै भुँडी भर्नतिर त लागेनन् । यतिबेला यस्तै आभाष भएको छ ।

यता राहतको आशागरेर बसेका निमुखा नेपाली जनताहरु भने ५/७ किलो चामल, १,किलो दाल,एक लिटर तेल र १ किलो नूनको लागि विपन्नताको विजोग सहेर बस्नुपरेको छ । ति सामान्यस्तरको राहत लिन पनि दायाँ–बायाँ बसेर फोटो खिचाएर विपन्नताको बेइज्जति सहेर लिन उनीहरु बाध्य छन् । त्यसका ठेकेदारहरु दाताहरुलाई प्रतिवेदन बुझाउने नाममा विपन्नहरुको हुर्मत्त लिने कार्यमा व्यस्त देखिन्छन् । यो महामारी कसैको लागि बेमौसमी राम्रो कमाईहुने खेती बनेको प्रष्टै बुझ्न सकिन्छ । ति विचरा विहान बेलुकाको छाक टार्न दैनिक मजदुरी नै गर्न विवशहरु यो अमानवीय राहत वितरणलाई बाध्य भएर स्विकार गरि आफ्ना लालाबालाको भोक मार्न विवश छन् ।

विपन्न ज्यालामजदुरी गर्नेहरुको नाम बेचेर राहतको नाममा चन्दा संकलन गरेर त्यसवाट केही फाइदा लुटेर विपन्नहरुलाई नै चन्दा दिनेजस्तो राहतलाई के नाम दिने ? बडो कठिनाइँ भएको छ यतिबेला । अरुबेला विपन्नताको भोकले पेटमा आगो बल्दा त्यसलाई शान्त पार्न राहतको भिक्षा माग्नेहरुलाई लात हान्न तम्सिने ती नवप्रवेशी महान समाजसेवीहरुले कोरोना जस्ताको कारण देश विपदमा परेको बेला समाजसेवीको नाटक मञ्चन गर्ने नयाँ–नयाँ तरीका अपनाएको देखेर धेरैलाई ताजुब लाग्ने गरेको छ । प्रायलाई अचम्म पनि लाग्ने गरेको छ । उनीहरुको अनेकन प्रपञ्च तथा मिठा अनि रसिला कुराबाट सबैलाई तीनछक्क पार्ने कार्य पनि हुंदै आएको छ ।

कमाउनेहरुले समाजसेवीको नाममा महान अवसरको रुपमा पनि लिने गरेका छन् । हामीले देखेका पनि छौ कोहि व्यक्ति यस्तो बेला मरिमेटेरै साँच्चै समाजसेवमा पनि लागेका छन् तर अधिकांशलाई यो मौकाको रुपमा आएको छ उनिहरु आफ्नो र आफ्नो आसेपासेको भुँडी भर्न समाजसेवाको नयाँ नाटक लिएर तपाई हाम्रो वरपर बडा सानले हिडिरहेका छन् । सरकारी कर्मचारी देखि नेताका आफ्ना नजिकका मान्छेहरुले बढी मात्र अवसर पाउने गर्दछन् । उनीहरुकै राज हुने भएवाट विपदमा परेका जनताहरु उही कुहिन लागेका चामलका भात खाएर बस्न बाध्य बनेका छन् । समाजसेवाको खेती गर्नेहरु बासमती चामलकै भात खाईरहेका छन् ।
 
समाजमा जहिलेपनि यस्ता नाटक मञ्चन गर्ने र वास्तवीक पीडामा पर्नेहरुको द्धन्द्ध चलिरहेकै पाउँछौं हामी । तर पनि टुलुटुलु हेरेर बस्नु सिवाय हामीसंग अरु के नै विकल्प रहन्छ र ? यो गहिरो खाडललाई पुर्ने कसैले हिम्मत गर्छ भने, त्यो गर्नु जरुरी भैसकेको छ, अझ भन्दा अव त ढिला भैसकेको छ । अवका दिनमा पनि हामीमाझ यस्ता विपदी नआउलान भन्न सकिन्न यस्तो कुराबाट पाठ सिकेर अवका दिनमा विपदमा समाजसेवाको खेती रोकिनु पर्दछ । राहत बाँड्ने नाममा मालामाल व्यापार गर्नेहरुलाई सजाय तोकिनु पर्दछ । र हरेक नागरिकमा सचेतनाको आवश्यकता पनि उतिकै देखिन्छ । यस्तो विपदमा आफ्नो लागि भन्दा त्यस्ता व्यक्तिहरुलाई सहयोग गरौं, तपाईले बाँडेको त्यो चामलले गरिबको छाक टरोस् । 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video